अर्घाखाँची, जेठ ११ । जिल्लाका खानेपानी जलउपभोक्ता समितिहरुको संस्थागत विकास, दिगो व्यवस्थापन तथा कृषि प्रविधिको विस्तार सम्बन्धी चारदिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ ।
जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आयोजनामा भएको तालिम समापन समारोहका वक्ताले कृषि पेसा सबैभन्दा महत्त्वपूर्ण भएकाले अन्नमा आत्मनिर्भर हुन सबै किसान लाग्नुपर्ने तथा राज्यबाट उनीहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘कृषिलाई नबुझेका मानिसले उपेक्षा गर्छन्, जसले बुझ्छन् त्यसको लागि सबैभन्दा राम्रो र सम्मानित पेशा हो । युवा शक्ति बाहिर भएकाले मजदुरको समस्या छ । तर सबैले प्रविधि प्रयोग गरेर उत्पादन बढाउने दिशामा अघि बढ्नुपर्छ ।
जिल्लाका कृषि उत्पादन बढी हुने क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउन जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले काम गरिरहेको महाशाखाका निमित्त प्रमुख इन्जिनियर भेषराज भुसालले बताए । कृषि उत्पादनमा लागेको जल उपभोक्ता समितिलाई सक्षम बनाउन तालिमको व्यवस्था गरिएको उनले बताए ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख छविन्द्र बेलवासेले युवाको विदेश जाने प्रवृत्ति रोक्न नसकिने भएकाले व्यावसायिक कृषि गर्न र स्वरोजगार बन्न सबैले सहयोग गर्नुपर्ने बताए । तालिममा जिल्लाका १७ जल उपभोक्ता समितिका ३४ कृषकहरुको सहभागी थिए ।