
गुल्मी, माघ २६ गते ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले तम्घासमा सञ्चालित दुई आयुर्वेद औषधि पसललाई एक–एक लाख रुपैयाँ जरिवाना गरेको छ ।
रमेश अधिकारीद्वारा सञ्चालित सम्पन्न आयुर्वेद औषधि पसल र कमला पाण्डेद्वारा सञ्चालित सफल होमियोप्याथिक औषधि पसललाई कानुन विपरीत जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले माघ १५ गते दुवै पसललाई सिल गरेको थियो । पसल सिल गर्नुका साथै छानबिन गर्न प्रशासनिक अधिकृत दिनेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ ।
अनुसन्धान समितिको प्रतिवेदनका आधारमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम एक–एक लाख जरिवाना तिरेपछि ११ दिनपछि पसल सञ्चालन गर्न दिइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
उनले अब आयुर्वेद औषधि पसलहरू मात्र सञ्चालन गर्न दिइएको र प्रतिवेदनअनुसार औषधि प्रशासन विभागलाई थप कारबाहीका लागि पत्राचार गरिने बताए ।
हामीले जरिवाना गरेर एलोप्याथिक बन्द र आयुर्वेद खोल्ने निर्णय गरेका छौं । आवश्यक कारबाहीका लागि औषधि प्रशासन विभागमा पठाउँछौं,’ उनले भने, ‘प्रशासनको क्षेत्राधिकारभित्र रहेर काम गरेका छौँ ।
जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले आयुर्वेद र होमियोप्याथिक औषधि खुद्रा बिक्री वितरणको अनुमति मात्र लिएका दुई पसलले अनुमतिविना एलोप्याथिक औषधि बिक्री–वितरण गरिँदैछ, एक्स–रे तथा भिडियो एक्स–रे सेवा, फिजियोथेरापी सेवा र नेबुलाइजर सेवा बिक्री वितरण गरेको भेटाएको थियो ।
साथै, चिकित्सकको सल्लाहबिना बिरामी भर्ना गरी सलाइन चढाउने तथा ल्याब र रेफर गर्ने गरेकोसमेत पाएपछि कारबाही अगाडि बढाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
प्रशासनले रेसुंगा नगरपालिका–९ मा रहेको दुई औषधि पसलसहित गोदाम, एक्सरे मेसिन, भिडियो एक्सरे, फिजियोथेरापी कोठा सिलबन्दी गरेको थियो ।
श्रोत नयाँ पत्रिका