काठमाडौंको न्यूनतम तापक्रम झर्यो ३ डिग्रीमा


काठमाडौं, माघ १२ गते ।

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । त्यसैले अघिल्ला दिनको तुलनामा आज चिसो बढेको महसुस भएको छ ।

बिहीबार साँझ गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो जाडोमा अहिलेसम्मकै कम तापक्रम हो ।

यसअघि यही माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज शुक्रबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । विभागले हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ मा नवीनतम तापक्रम अपडेट प्रकाशित गर्दछ ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । माथिल्लो तहमा चिसो बादल लागेकाले मौसम पनि चिसो छ । त्यसैले अघिल्ला दिनको तुलनामा जाडो बढेको छ ।

तर, लामो समयदेखि जाडोमा पानी नपरेकाले यस वर्ष विगतका वर्षभन्दा कम चिसो छ । यदि पानी परे काठमाडौंको न्यूनतम तापक्रम घट्ने र जाडो अझै कडा हुने मौसमविद्ले बताएका छन् । तर, आगामी तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झा बताउँछन् ।

२०७५ पुसमा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो । सन् १९७८ मा काठमाडौंको न्यूनतम तापक्रम माइनसमा पुगेको रेकर्ड छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको