नारायणगढ, माघ ३ गते ।
गुणस्तरमा सुधार भए पनि नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन प्रमुख राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी ५०४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार यस अवधिमा दुर्घटनामा परी तीन हजार ७६ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चितवनमा हुलाकी सडक र भित्री सडकमा पनि दुर्घटना उत्तिकै हुने गरेको छ । तीन ठूला राजमार्गसँग जोडिएकाले चितवनमा ट्राफिक चाप बढी हुन्छ ।
दुर्घटनाको कारणबारे धेरै अध्ययन हुन सकेको छैन । झिसामिसेको यस सडकखण्डको तीन नम्बर पुल नजिकै मंगलबार भारतीय गाडी सडकबाट त्रिशूली नदीमा खसेको थियो । चालक बेपत्ता छन् । ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले चालकले भेउ नपाउँदा दुर्घटना भएको हुनसक्ने अनुमान गर्नुभयेको छ ।
”उहाँले भन्नुभयो,” भौगोलिक ज्ञानको कमीका कारण यो सडकखण्डमा दुर्घटना हुने गरेको छ,’ ।
कतिपय दुर्घटना सडककै कारण हुने गरेको देखिन्छ । सवारीसाधन ओभरटेक गर्दा धेरै दुर्घटना पनि भएका छन् । चालक सुतेको वा सहचालकलाई गाडी चलाउन दिनु पनि दुर्घटनाको कारकका रूपमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले सडकको तिब्र गति र चालकको लापरवाहीले दुर्घटनाका कारण हुन सक्ने बताउनुभयो । हुस्सुले गर्दा बाटो सहजै नदेखिने हुँदा दुर्घटना हुने गरेको ट्राफिक चालक बताउँछन् ।
खराब वा पुराना गाडीका कारण पनि दुर्घटना हुने गरेको छ । पुरानो नारायणी यातायात ट्रान्सपोर्ट प्रालिका सञ्चालक अशोक पोखरेलले चालक र सवारीसाधनलाई मात्रै दोष दिएर दुर्घटना न्यूनीकरण गर्न नसकिने तर्क गर्नुभयो । ‘जताततै निर्माणको काम भइरहेको छ । सडकको अवस्था नाजुक छ । यस्तो अवस्थामा चालक र गाडीलाई दोष दिन मिल्दैन,’ उहाँले थप्नुभयो, ‘ट्राफिक सिग्नल पनि छैनन् । कतिपय ठाउँमा सडक जीर्ण छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले सडक निर्माण, मर्मत तथा सुधारका क्रममा दुर्घटना बढ्नु स्वभाविक रहेको बताउनुभयो । त्यसतर्फ सचेत हुन जरुरी छ । सरकारले सडक सुरक्षामा पनि लगानी गरेको छैन । चालकको स्वास्थ्य अवस्था, मादक पदार्थ सेवन, थकान आदिका कारण पनि सवारी दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।
श्रोत gorkhapatra











