चितवन, असोज २९ गते।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ। पारिवारिक भेटघाटका क्रममा आज यहाँ आउनुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताउनुभयो।
“देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको छ”, अध्यक्ष भट्टराईले भन्नुभयो, “दलका नेताले आफ्नो दल, गुट र सत्तालाई केन्द्रमा राखेर विधि र पद्दतिलाई मिच्ने काम भएको छ।” यसले लोकतन्त्रको हित नहुने उहाँको भनाइ थियो।
हामीले अपनाएको शासकीय प्रणालीले कसैलाई पनि बहुमत नदिने भन्दै भट्टराईले भन्नुभयो, “दलहरुले पहिलेनै समझदारी गरेर निश्चित अवधिको निम्ति गठबन्धन टिकाउने काम गर्नुपर्यो, कि त निर्वाचन प्रणाली बदल्नु पर्यो।” अहिलेको गठबन्धनले गठबन्धनको मर्मअनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो “गठबन्धनको जुन मर्म छ त्यस अनुसार गठबन्धनमा रहेका दल र नेतृत्व गरेको सरकार चल्न सकेको देखिँदैन।”
अहिले देशको अर्थतन्त्र जटिल मोडमा रहेको बताउँदै अध्यक्ष भट्टराईले सरकारले गम्भीर भएर समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिनुभयो। देशलाई तीव्र औद्योगीक विकासको गतिमा लान नसक्दा अर्थतन्त्र कमजोर बन्दै गएको उहाँको भनाइ थियो।









