जीवन्त होस् जनता माविको चमक


राजकरण महतो

पहेंलै रंगिएका भवनहरूले बाटोबाटै नजर तान्यो । अघि बढ्नबाट टक्क रोकायो । र, बाटो मोडाएर पु¥यो जनता माध्यमिक विद्यालय डाँडाटोल बिजलपुरा । महसुस गरिरहेको थिएँ, ‘प्रवेशद्वारले आफ्नो काँखमा न्यानो स्वागत गरेको ।’ नजिकै विद्याकी धनी सरस्वतीले आफ्नै चेलालाई आशीर्वाद दिइरहेकी थिइन् । छेउछाउका आँपका बोटमा हल्लिरहेका पातले आउ भनेर बोलाएको भान हुन्थ्यो । लाग्थ्यो पुराना मेरा याद जवान भएर ब्युँँझिएँ ।

याद त ती जवान हुँदै गरेका आँपले त्यो समय पनि पढ्न पुगेका मजस्ता विद्यार्थीलाई शीतलता दिएको थियो । करिब डेढ दशक त्यसकै छहारीमा दिन बित्थ्यो । आजको मेरो पाँच मिनेटको बसाइले १५ वर्षअघिको स्कुले जीवनको याद मज्जाले दिलायो । भनिन्छ नि, ‘याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ ।’ यहाँ आज कोही सोचो कि वस्तुले सम्झनालाई जीवन दियो ।

त्यो समय बिहानैदेखि साँझसम्म स्कुलमा पढ्थें । कति रमाइलो हुन्थ्यो, हुन्थ्यो । साथी मनोजले टिफिनमा खुवाएको चटपटे । पिरो, अमिलो, क्या मीठो ! जिब्रो रसायो । पाँच रुपैयाँमा १० गिलास । मित्र रमेशले लेख्ने उल्टो अक्षर । सबै चकित बन्थे । साथी रोशनले फटाफट सक्ने गणितको हिसाब । कसैले जित्न सक्दैन्थ्यो । अनि घर, खेतको काम गर्दै कक्षामा प्रथम हुने रीताको कठोर मेहनत ।

डाह लागेर आउथ्यो । मित्र अशोकको साइकलमा चढेर स्कुल आउजाउको मज्जा, अहिले प्लेन चढेको भन्दा पनि धेरै । विद्यालयमा सुशासन कायम गर्न गरिएको नाराजुलुस । ती दिनहरू सम्झेर फेरि स्कुले जीवनमा फर्किन मन लाग्छ । तर, गीतले भनेझैं ‘कहाँ आउँछ र घुमेर, बालापनको उमेर ।’

आँपको बोटनिर बसेर घण्टी लगाउन तयार हुनुहुन्थ्यो हितनारायण काका । मलाई उहाँले चिन्नु भएन । मैले आफ्नो परिचय दिए, ‘म राजकरण । मलाई अहिले पत्रकार भनेर सबैले चिन्नुहुन्छ ?’

अनि उहाँले भन्नुभयो, ‘अँ चिने चिने । के छ खबर बाबु ?’
भने ‘ठीकै छ ।’

खुदनारायण काकाले बजाएको घण्टीले विद्यालयको पठनपाठनलाई लयमा हिँडाउँछ । स्कुल प्रशासनले तोकेको समयलाई घण्टीले सूचित गराउँछ । निर्जीव घण्टीले सजीव शिक्षक, विद्यार्थी, कर्मचारीलाई मार्गदर्शन प्रदान गर्छ । बितेका दिनहरूमा अरू कसले के ग¥यो ? थाहा छैन । तर, खुदनारायण काकाले तोकिएको समयमा घण्टी बजाउन कहिले छोड्नु भएन । उहाँको इमान्दारिता यो घण्टीमै अडिएको छ– उहिले पनि, अहिले पनि ।

पुराना भवनहरू विद्यालयमा खुसीले हाँसिरहेको देखें । हालसालै ठडिएको नयाँ कोठाहरू नवबेहुली झैं शृंगारिएका देखिन्थे । विद्यालयको वातावरण शान्त थियो । कक्षा कोठामा शिक्षकहरू अध्यापन गराउन व्यस्त थिए भने विद्यार्थीहरू पढ्नमा ।

मैले ज्ञानआर्जन गरेको शैक्षिक मन्दिर ठडिएको साढे ६ दशक भयो । २०१६ सालमा स्थापित जनता माध्यमिक विद्यालय डाँडाटोल बिजलपुराले ६४ वर्ष उमेर टेकेको छ । यो अवधिमा थुप्रै लालहरू जन्माए । लोभलाग्दो इतिहास रचे । तर, आफ्नै मुहार भने फेर्न सकेको थिएन । २०७९ मा स्थानीय तहको चुनावबाट वडाध्यक्षमा मेरो सहपाठी लक्ष्मण सिंहले जितेर आउनुभयो । अनि विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा रमेश महतो आउनुभयो । उहाँहरू आएपछि विद्यालयले मुहार फेरेको छ । त्यसमा बर्दिबासमा मेयर आदरणीय प्रह्लादकुमारबाट ठूलो सहयोग प्राप्त भयो ।

विद्यालयमा नयाँ भवन ठडिएका छन् । पुराना भवनहरूको मर्मत सम्भव पाएको छ । कोठाहरूमा पंखा जडान भएको छ । स्कुल पोसाक कडाइका साथ लागू गरिएको छ । विद्यालयपरिसर सीसी क्यामराको निगरानीमा राखिएको छ । हालै डिप्लोमा तहको कम्प्युटर कक्षा सञ्चालन भएको खबरले खुसी बनायो । यसले साँच्चै विद्यालयको मुहार फेरिएको अनुभुति भयो ।

२०७४–२०७९ का वर्षहरू मैले पूर्व विद्यार्थीको हैसियतले विद्यालय रूपान्तरणका लागि थुप्रै पहल र प्रयास गरे । तर, त्यो पूरा भएनन् । राजनीतिक स्वार्थ बाध्य बनिरह्यो । जीर्ण भौतिक संरचना, शिक्षकको कमी, व्यवस्थापन समिति विहीनताले विद्यालयको विकासमा पहाड बनेर उभिरह्यो ।

पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेशसभा सदस्य शारदा थापा, बर्दिबासका पूर्वमेयर विदुरकुमार कार्की, वडाध्यक्ष श्यामप्रसाद राउत, वडासदस्य रामपूजन महतोलाई गरेको आग्रह त्यो बेला व्यर्थजस्तै बन्यो । थोरै भए पनि पूर्वमन्त्री पोखरेलले चारकोठे भवन निर्माणका लागि ३५ लाख बजेट विद्यालयलाई दिनुभएको थियो । तर, उपभोक्ता समिति गठनमा भएको ढिलाइले झन्डै २७ लाखको निर्माण काम नहुँदै आर्थिक वर्षले बिदाइ माग्यो । ती भवन दुई वर्ष बित्दा पनि अधुरै रहे । अहिलेका नेतृत्वले विद्यालयको विकासलाई ध्यानमा राखेर काम गरिरहेकोमा खुसी लागेको छ । त्यो बेला गरेको पहलले ढिलै भए पनि सबैको ध्यान भने अवश्य तानेको छ ।

जनता माविमा मलाई माध्यमिक स्तर (८–१०ं)को शिक्षा आर्जन गर्ने सौभाग्य प्राप्त भएको थियो । वि.सं. (२०६३–२०६५) यसै विद्यालयको काँखमा बसेर ज्ञानआर्जन गरेको थिए । मेरो जीवनमा यस विद्यालय र स्कुलका आदरणीय गुरुजनले लगाउनु भएको योग्दानप्रति म ऋणी छु । आदरणीय गुरु गोविन्दप्रसाद शर्मा, फणीराज बराल, सुशील यादव, शुभकरण यादव, भरतप्रसाद यादवज्यूको नाम त झन् यादगार भएर आइरहन्छ ।

विद्यालय त्यो स्थल हो जहाँ दैनिक पठनपाठनको अतिरिक्त, सहपाठी सिकाइ, अतिरिक्त क्रियाकलाप, खेलकुद, नाचगानमार्फत बालबालिकालाई अधिकतम ज्ञान प्रदान गर्ने गरिन्छ । बालपनको सिकाइमा इँटा थप्दै मेरो बौद्धिकस्तरको उचाइ बढाउनमा जनता माविले ठूलो गुण लगाएको थियो । २०६५ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएको खबरले भुइँमै खुट्टा थिएन । मेरो बुझाइ, विचार, भावनामा निखार ल्याएको जनता मावि मेरो जीवनको शैक्षिकस्तरको एक मुख्य आधारशिला हो ।त्यसैले भनिएको छ, जेल खोल्नुभन्दा स्कुल खोल्नुस् ।ढिलो हुँदै थियो ।

काठमाडौं आउनु पर्ने । साँझको ५ बजेको प्लेनले तोकेको समय नजिकिँदै थियो । ३१ साउन, २०८० का दिनमा पुराना ती यादहरूलाई भंग गर्दै । वर्तमानमा फर्किंदै । म खेलेको र पढेको स्कुल । मलाई हुर्काएको र पढाएका गुरुजन प्राणभन्दा प्यारो लाग्छ । केही गुरुजनहरू अझै विद्यालयमा नयाँ विद्यार्थीहरूलाई पढाइरहेको देखें ।

मन खुसीले गद्गद् भयो । उहाँहरूसँग भएको भेटले ईश्वरलाई भेटेको जस्तो भान भयो । अब गुणस्तरीय शिक्षामा सबैको ध्यान जानेछ भन्नेमा विश्वस्त छु । यहाँ पढ्ने सबै विद्यार्थी भाइबहिनीहरूको भविष्य उज्ज्वल होस् । विद्यालयले सबैको माया, सहयोग, विश्वास पाइरहोस् । ज्ञात, अज्ञात गुरुजनप्रति आत्मैदेखि एकपटक फेरि सलाम छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको