काठमाडौं– निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि निर्वाचन क्षेत्र रहेका तीन जिल्लामा निर्वाचन आचारसंहिता लागू गरेको छ। आयोगले चितवन २, बारा २ र तनहुँ १ मा हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको हो।
आचारसंहिता उपनिर्वाचन सम्पन्न नभएसम्म लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
आयोगले मन्त्री, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्थालगायतका लागि निर्वाचन आचारसंहिता लागू हुने प्रस्ट्याएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनभित्रै गर्ने भनिएको मन्त्रिपरिषद् विस्तारलाई निर्वाचन आचारसंहिताले नरोक्ने आयोगका प्रवक्ता पौडेलले बताए। आयोगले आजदेखि लागू गरेको आचारसंहिता देशभरि नभएर निर्वाचन हुने बारा, चितवन र तनहुँमा मात्रै लागू हुने हुँदा यी जिल्ला प्रत्यक्ष प्रभावित नहुने गरी जुनसुकै गतिविधि गर्न सकिने उनको भनाइ छ।
उपनिर्वाचनका लागि तीन वटै क्षेत्रमा दस दलीय गठबन्धनबाट चितवन र तनहुँमा कांग्रेस उम्मेदवार र बारामा जसपा उम्मेदवार निर्वाचन मैदानमा छन्। एमाले, राष्टिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलले पनि तीन वटै क्षेत्रमा उम्मेदवारी दिएका छन्।









