
महोत्तरी : आफ्नै ठाउँमा शितभण्डार (चिस्यानघर) बन्ने कुराले मख्ख परेका महोत्तरीको बर्दिबास नगरपालिकाका किसान निरास हुन थालेका छन् । काम थालिएको चार वर्ष नाघ्दासम्म निर्माण सम्पन्न नभएपछि यहाँका किसानमा निरासा छाएको हो । चिस्यानघर निर्माण नगर नेतृत्वको प्राथमिकतामा नपर्दा यो काम अहिले बेवारिसे झैं बनेको किसानको गुनासो छ ।
“खै अचेल त चिस्यानघरमा कामदार पनि देखिन छाडे, चार वर्षअघि (२०७५) मा थालिएको काम पछिल्लो एक वर्षयता जाँको त्यही देखिन्छ” बर्दिबास-२, ६ र ८ को मध्यमा रातु नदीउकास जग्गाको ‘मोडल एग्रो भिलेज’ क्षेत्रभित्र निर्माणाधिन चिस्यानघर देखाउँदै जोडिएकै बर्दिबास-८ हाथीलेट बस्तीका भोला श्रेष्ठ भन्नुहुन्छ, “शितभण्डारमा उत्पादन थन्क्याएर मागका बेला झिकेर बेच्ने आश पुरा हुन्न कि क्या हो ?”
यसअघि २०७५ सालमा तत्कालीन नगरप्रमुख विदुरकुमार कार्कीले थाल्नुभएको महत्वाकांक्षी योजना बर्दिबास मेयर कृषि कार्यक्रमको ‘मोडल एग्रो भिलेज’ क्षेत्रभित्रै चिस्यानघर निर्माण थालिएको हो । गत वैशाखमा स्थानीयतहको निर्वाचनले नयाँ नेतृत्व आएपछि यो योजनाले प्राथमिकता नपाएको हो कि भन्ने अहिले नगरबासीमा संसय देखिन्छ ।
“खै पहिलेका मेयरसा’ब जहाँ पुग्दापनि मोडल एग्रो भिलेजको चर्चा जोड्नु हुन्थ्यो, पछिल्लो स्थानीयतह निर्वाचनउता चिस्यानघर निर्माणाधिन स्थलमा कामदार पनि देखिन्थे, हुँदैछभन्ने आश थियो” बर्दिबास-६ का बलराम कार्की भन्नुहुन्छ, “अहिले यसबारे कतै चर्चा सुनिन्न, कामदार पनि देखिन्नन् ।” यत्रो ठूलो योजना अलपत्र नै पर्यो कि भन्ने पर्न लागेको कार्कीको थप चिन्ता छ ।
कूल २२ करोडको अनुमानित लागतमा निर्माण थालिएको चिस्यानघरमा तीन हजार मेट्रिकटन कृषि उत्पादन भण्डारण गर्ने क्षमता हुने इष्टिमेटमा उल्लेख छ । फरकफरक १२ प्रकारले कृषि उत्पादन सुरक्षण गर्न सकिने (फरक फरक कृषि उपजको भण्डारण गरिदा तिनलाई चाहिने तापमान फरक हुन्छ, यसरी यो निर्माणाधिन चिस्यानघरमा फरकफरक १२ प्रकृतिले सुरक्षण गर्न सकिने व्यवस्था) यो चिस्यानघरसँगै पशु प्रजनन प्रयोजनको वीर्य बैङ्क र पूर्वउपचारका लागि भ्याक्सिन (खोप) बैङ्क रहने निर्माण प्रस्तावमा उल्लेख छ ।
अत्याधुनिक चिस्यानघर निर्माणले कृषि उत्पादन यहाँ भण्डारण गरेर उच्च मागको बेला बजार पुर्याउन सकिने अवस्था सुनिश्चित गर्ने र अपेक्षित मूल्य पाइने आश किसानले सँगालेका थिए । तर निर्माण कार्यको गति निकै सुस्त हुँदा यो कहिले बनीसक्ने हो भन्ने चिन्ता बढेको बर्दिबास-२ का किसान उमेश आचार्य बताउनुहुन्छ ।
“उत्पादित कृषि फसल बजार पुर्याएर कौडिमा दाममा दिनु परेको छ” बर्दिवास-९ पशुपतिनगरका किसान जवाहर महतो भन्नुहुन्छ, “अबभने बल्ल शितभण्डार (कोल्डस्टोरेज) बन्ने भएछ भन्ने लागेको थियो, तर खै काम नै अघि बढेको देखिन्न ।” शितभण्डार (चिस्यानघर) मा उत्पादित कृषि फसल भण्डारण गरेर बजारमा माग बढेका बेला निकाल्दा राम्रो मूल्य पाउने जवाहरसहितका किसानले आश सँगाल्दै आएका छन् ।
आम किसानको चिन्ता स्वभाविक भएपनि चिस्यानघर निर्माणको काम अलपत्र नभएको हालका नगरप्रमुख प्रल्हादकुमार क्षत्री बताउनुहुन्छ । “हामी (अहिलेको जनप्रतिनिधि टिम) ले काम थालेको त १० महिना त भयो, सुरुका केही दिन अलमल भएपनि हामीले बर्दिबास कृषि कार्यक्रमको मोडल एग्रो भिलेज र चिस्यानघर निर्माणको कामलाई प्राथमिकतामै राखेका छौं” नगरप्रमुख क्षत्री भन्नुहुन्छ, “चालु आर्थिक वर्ष (२०७९/०८०) मै यो योजनामा ५० लाख विनियोजित छ, कहिलेकाँही दक्ष जनशक्ति घटबढ हुँदा काम गतिमा बढ्न नसकेको भने हो ।” मोडल एग्रो भिलेजको कामले अब गति लिने क्षत्रीको भनाइ छ । “हामी मोडल एग्रो भिलेजको कामलाई बढाउँदैछौं, चिस्यानघर यसैको अंश त हो” क्षत्रीले भन्नुभयो ।
कूल २२ करोड अनुमानित लागत (२०७५ को) मा निर्माण थालिएको चिस्यानघरको बाहिरी संरचना निर्माण भइसकेको छ । यसमा हालसम्म छ करोड खर्च भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगर कार्यपालिका कार्यालयले २०७५ मै मेयर कृषि कार्यक्रम (अब बर्दिबास कृषि कार्यक्रम) सञ्चालनका लागि छुट्याएको बर्दिवास-२, ६ र ८ नम्वर वार्डमा पर्ने एउटै प्लटमा ८४ बिघा जग्गा छ । सोही जग्गाभित्र शितभण्डार निर्माण गरिदै छ ।
नगरमा बर्दिबास कृषि कार्यक्रमअन्तर्गतको मोडल एग्रो भिलेज नमुना कृषिस्थल बनाइने नगरपालिकाले जनाएको छ । यहाँबाट अभिलेखीय प्रणालीको कृषि व्यवस्थित गरिने जनाइएको छ । “बर्दिबास कृषि कार्यक्रममा हाँमी नगरका सबै किसानलाइ समेट्छौं” नगरप्रमुख क्षत्री भन्नुहुन्छ, “कुन किसानले कुन बाली कति क्षेत्रफलमा लगाउँदैछन् ? यो कति उत्पादन हुनसक्छ ? यसकोे अभिलेख खडा गरेर उत्पादित फसलको बजारसमेत पक्का गर्ने कार्यक्रमको उद्देश्य हो ।” सिंचाइ, खादमल, बीउविजन र बजार किसानसँग जोडिएका विषय र स्वस्थ्यकर विषादिरहित उत्पादन उपभोक्तासम्म पुर्याउने कुरालाई कार्यक्रममा समावेस गरिएको प्रमुख क्षत्रीले स्पष्ट पार्नुभयो ।