२३ मंसिर, काठमाडौँ । शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिँदै गगन थापाले कांग्रेस चुहिएको प्वाल टाल्ने पार्टी रहेको बताएका छन्।
कांग्रेस नेताहरुले पटकपटक निर्वासन, जेल, यातना भोगेको उल्लेख गर्दै एउटा विचार बोकेको आधारमा सत्ताले यातना दिने प्रचलन नेपालमा रहेको बताए।
नेपालमा कांग्रेसको राजनीति गर्नेहरुले ‘म’को बारेमा होइन, ‘हामी’को बारेमा सोचेको उल्लेख नेता थापाले गरे। ‘त्यही भएर नेपाली कांग्रेसको सिद्धान्त ‘हामीभित्र म’ रहेको उनले उल्लेख गरे।
उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै भने( ‘म महामन्त्री हुन्छु हुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पुर्याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी दिएको हुँ।’
नेपाली कांग्रेसको समुचित प्रयोग गरेर हाम्रै जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्नेमा आफूलाई विश्वास रहेको उनले बताए।
आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री भएकामा बधाई दिँदै पाँच वर्ष कार्यकाल काम गर्न शुभकामना दिएको तर त्यस्तो हुन नसकेको बताए।
‘जुन खालको अस्थीरताको बीचमा अहिले हामी छौँ, लोकतान्त्रिक संस्थाहरु एकपछि अर्को कमजोर बनेका छन्, सोचेभन्दा ठीक उल्टो भएको छ, निराशा छ, छटपटाहट छ,’ उनले कार्यक्रममा भने।









