
४ भदौ, सल्यान । सल्यान जिल्लाका ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच नहुँदा अधिकांश सामुदायिक विद्यालयका बालबालिका वैकल्पिक पठनपाठनबाट वञ्चित भएका छन् । सुलभ दरमा नेपाल टेलिकमले उपलव्ध गराउने सिम पनि पर्याप्त नभएपछि बालबालिकालाई पठाउन समस्या भएको हो ।
गाउँमा इन्टरनेट नहुँदा वैकल्पिक पठनपाठन प्रभावकारी नभएको कालीमाटी गाउँपालिका–५ दम्दवालीका शिक्षक सुरेशकुमार गाहामगरले बताए । ‘इन्टरनेट सुविधा नभएपछि नेपाल टेलिकमसँग सिम मागेका थियौं,’ उनले भने, ‘दुई साताअघि सबै विद्यार्थीको माग फाराम भरे पनि अहिलेसम्म सिम आएको छैन ।’ उनले सिम उपलव्ध भएका विद्यालयमा पनि अधिकांश सिम पनि एक्टिभ हुन नसकेको बताए ।
जिल्लाका १० स्थानीय तहमा ४ सय ८८ विद्यालय भए पनि अधिकांश विद्यालयमा अझै वैकल्पिक माध्यमबाट पठनपाठन सुरु भएको छैन । जिल्लाका ३ सय ८८ विद्यालयले अझै पठनपाठन सुरु नगरेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । इकाइका अनुसार वैकल्पिक कक्षा सञ्चालन नहुँदा झन्डै ६० हजार बालबालिका अझै पठनपाठनबाट बञ्चित भएका छन् ।
जिल्लाभरि ७९ हजार ५ सय २८ विद्यार्थी अध्ययनरत रहेको इकाइले जनाएको छ । ‘पठनपाठनबाट बञ्चित भएका बालबालिका दिनभरि खेल्न र अभिभावकसँग मजदुरी गर्न बाध्य छन्,’ गाहामगरले भने, ‘कोरोनाका कारण लगातार दुई वर्षदेखि पठनपाठन प्रभावित भएपछि बालबालिकाले पढेका कुरा पनि बिर्सिएका छन् ।’
अहिलेसम्म शारदा नगरपालिकाले झण्डै ४०, दार्माका ६०, छत्रेश्वरीले ६० र कपुरकोट गाउँपालिकाले १० प्रतिशत विद्यालयमा वैकल्पिक कक्षा सञ्चालन गरेका छन् । जिल्लाभरि विद्यार्थीका लागि ४ हजार ८ सय २५ सीयूजी सिम वितरण गरिएको टेलिकम सल्यानका प्रमुख युद्धबहादुर केसीले बताए । ‘विद्यालयमा उपलब्ध गराइएका सबै सिम केन्द्रबाटै एक्टिभ हुने भएकाले समस्या भयो,’ उनले भने, ‘प्राविधिक समस्याका कारण वितरण गरिएका झन्डै आधा सिम एक्टिभ भएका छन् ।’
अधिकांश गाउँमा टेलिफोन नेटवर्क नहुँदा वैकल्पिक कक्षा सञ्चालन गर्न नसकिएको बन्गाडकुपिण्डे नगरपालिकाको च्युरास्थित नेपाल राष्ट्रिय माविका प्रधानाध्यापकले गुमानसिं विष्टले बताए । उनका अनुसार कक्षा सञ्चालन नहुँदा झन्डै १ हजार विद्यार्थीले पढ्न पाएका छैनन् । सिमका लागि विद्यालयहरूले फार्म भर्ने काम गरिरहेको शारदा नगरपालिका शिक्षा संयोजक लीलाधर बबालले बताए ।
उनका अनुसार नगरभित्रका ७० मध्ये ४० प्रतिशतले वैकल्पिक कक्षा सञ्चालन गरिरहेका छन् । ‘केही विद्यालयले साना कक्षालाई लक्षित गरी टोल शिक्षा सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘केहीमा अनलाइन कक्षा जारी छ ।’
भदौको दोस्रो साताभित्र सबै विद्यालयमा वैकल्पिक कक्षा सञ्चालन गर्ने नगरपालिकाको योजना छ । अधिकांश गाउँमा टेलिफोन नेटवर्क नहुँदा समस्या भएको दार्मा गाउँपालिकाका शिक्षा संयोजक शेरप्रसाद ढकालले बताए । ‘टेलिफोन समस्याकै कारण अनलाइन कक्षा सञ्चालन गर्न समस्या भयो,’ उनले भने, ‘गत सातादेखि टोलटोलमा शिक्षक पठाएर बालबालिकालाई पढाउन थालिएको छ ।’