
२४ साउन । द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि विजेता घोषणा भएको छ । सिजन ३ को उपाधि किरण गजमेर ले हात पारेका छन् । हिमालय टेलिभिजनबाट ग्राण्ड फिनालेको प्रत्यक्ष प्रशारण शुरु भएको थियो । गत साता भएको सेमिफाइनलबाट चार वटा टिमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए ।
सिंगिङ रियालिटी सो द भ्वाइस अफ नेपालले आज तेस्रो विजेता पाएको हो । कोच दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङको टिमबाट एक–एक जना उत्कृष्ट प्रतिभा ग्रान्ड फिनालेमा पुगेका थिए । यो सिजनको सर्वोत्कृष्ट को होला भनेर संगीतप्रेमी दर्शकमाझ चासो, चर्चा र प्रतीक्षाको विषय बनेको थियो । टिम दीपबाट दार्जलिङका आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीष मगर र टिम तृष्णाबाट ज्वाला राईबीच प्रतिस्पर्धा भएको थियो ।
महागुरु दीपको टिमबाट बुटवलका गोविन्द पुनलाई पछि पार्दै आर्यन अन्तिम चारमा पुगेका हुन् । भ्वाइसमा ‘कान्छा छोरा’ भनेर चिनिएका आर्यनले ‘जेठा छोरा’ गोविन्दलाई भोटिङमा पछि पारे ।
टिम प्रमोदबाट फाइनलम पुगेका किरण गजमेर अमेरिकामा बस्छन् । अमेरिकामा बस्दै आए पनि प्रतियोगिताका लागि नेपालमा आएका किरणले सिक्किमका रवि गहतराजलाई पछि पारेर उपाधिको अन्तिम होडमा पुगेका हुन् ।
सिजन ३ मा दर्शकबाट सर्वाधिक रुचाइएका किरण र रवि एउटै टिममा पर्नु दुर्भाग्य नै सावित भयो। यी दुईका लागि दर्शकको समर्थन लगभग बराबरीजस्तै थियो। तर किरणले बाजी मारे ।
टिम राजुबाट बाग्लुङकी तारा श्रीस मगर पहिलो पटक भ्वाइसको फाइनलमा पुग्ने पहिलो महिला प्रतियोगी हुन् । ताराले काठमाडौंका सोनाम शेर्पालाई भोटिङमा पछि पारेर फाइनल राउन्डको यात्रा तय गरेकी हुन् ।
टिम तृष्णाबाट खोटाङका ज्वाला राई भाग्यमानी ठहरिए। ज्वालाले काठमाडौंकी अफ्रिता खड्गीलाई फाइनलमा पुग्नबाट रोकिदिए। आर्यन, किरण, तारा र ज्वाला चारै जना सिजन ३ को उपाधि प्राप्तिका लागि आँतुर छन। भ्वाइस अफ नेपाल सिजन थ्रीको विजेताले २५ लाख रुपैयाँ पाउनेछ । त्यस्तै उसले वर्ल्ड टूरको पनि मौका पाउनेछ ।
यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए । दर्शकबाट अत्यधिक रुचाइएको द भ्वाइस अफ नेपाल हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालकै अफिसियल युट्यब च्यानलबाट प्रसारण भइरहेको छ।