कसरी लिन सकिन्छ ऋण शैक्षिक प्रमाणपत्र बाँट


६ साउन, काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थायी घर भएका विवेक दाहाल होटल चलाएर रमिरहेका छन् ।

उनी साइप्रसमा ६ वर्ष पढेर स्वदेशमै केही काम गर्छु भन्ने सोचका साथ फर्के । उनले हेटौँडामा रेस्टुरेन्ट खोलेको तीन वर्ष भयो ।

विवेकले नेपाल सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतमा ऋण दिन्छ भन्ने थाहा पाए । उनले व्यवसाय सञ्चालनमा केही राहत हुने ठानेर बैंकमा गए । बैंकले मागेका कागजातहरू पुर्‍याएर ६ प्रतिशत व्याजमा २०७६ माघमा ऋण लिए ।

ऋण लिने प्रक्रिया पूरा गर्न पाँच महिना लाग्यो । त्यसपछि एकमुष्ठ सात लाख रुपैयाँ पाए ।

विवेकले रेस्टुरेन्टमा सरकारी ऋणसहित ३५ लाख रुपैयाँ लगानी गरेका छन् । ऋण चुक्ता गरिसक्ने समय पाँच वर्ष हो । उनले दुई वर्ष नहुँदै व्याजसहित २ लाख ८० हजार रुपैयाँ बुझाइसके । कोरोना भाइरसका कारण व्यवसायमा केही असर परेको उनले बताए ।

स्वरोजगार बन्न चाहने शिक्षित युवाका लागि यस्तो सहुलियत ऋण उपयोगी हुने विवेको उनको भनाइ छ । उनले होटलसम्बन्धी तालिन दिने इन्स्टिच्युट पनि चलाएका छन् ।

 

काठमाडौँ सामाखुसीका अर्का युवाले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ऋण लिएका छन् । उनले डेन्टल क्लिनिक चलाएका छन् । उनी अर्को एक ठाउँमा जागिर पनि गर्छन् । क्लिनिकबाट आम्दानी राम्रो भइरहेको उनले बताए । उनले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् ।

अब ऋण रकम २५ लाख

चालु आर्थिक वर्षदेखि शैक्षिक प्रमाणपत्र धितोमा २५ लाख रूपैयाँसम्म ऋण पाइने भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमा उक्त घोषणा गरेको हो ।

चार वर्षअघि शुरू गरिएको यो कार्यक्रममा चालु आर्थिक वर्षसम्म अधिकतम ७ लाख रुपैयाँ सीमा तोकिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर १३९ जना युवाले ऋण लिएका छन् । यो संख्या अपेक्षाअनुसार नभएको ठानिएको छ ।

शैक्षिक प्रमाणपत्र धितोमा २५ लाख रूपैयाँसम्म पाउने भएपछि युवाहरूको आकर्षण बढ्ने अपेक्षा सरकारको छ ।

यस्तो छ ऋण लिने प्रक्रिया

शैक्षिक प्रमाणपत्र धितोमा कर्जा पाउने भनेको शैक्षिक प्रमाणपत्र बैंकलाई बुझाउनासाथ पाइने होइन । यसमा खास मापदण्ड पूरा गर्नुपर्छ ।

सरकारले नीति बनाउने हो, ऋण बैंकले दिने हो । बैंकले समयमा चुक्ता हुने विश्वास खोज्छ । बैंकको उद्देश्य युवालाई ऋणी बनाउने होइन, व्यवसायी बनाउने हो । यसकारण उसले मापदण्डमा कडाइ गर्छ । विश्वास दिलाउनेले मात्रै ऋण पाउँछ । यसै कारण शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिनेको संख्या निकै कम भएको ठानिएको छ ।

ऋण लिन चाहने व्यवसायीले बैंकलाई विश्वसनीय कार्य योजना पेश गर्नुपर्छ । कार्य योजनाले निर्धारित अवधिमा ऋण चुक्ता गर्न सक्ने विश्वास दिलाउनुपर्छ ।स्थायी लेखा नम्बर, कर्जा सूचना केन्द्रको कालो सूचीमा नपरेको प्रमाण, कम्तीमा स्नातक उत्तीर्ण भएको शैक्षिक कागजात हुनुपर्छ । उमेर ४० वर्ष उमेर नाघेको हुनु हुँदैन ।

घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् जस्ता कुनै आधिकारिक निकायबाट कम्तीमा सात दिनको उद्यम वा व्यवसाय सीप विकास तालिम लिएको हुनुपर्छ ।ऋणको नयाँ कार्यविधि सार्वजनिक गरेको छैन । कार्यविधि चाँडै आउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको