६ साउन, काठमाडौं । नेकपा एमाले को माधव नेपाल समूहले आफू पक्षको केन्द्रीय कमिटीको बैठक राख्ने तयारी गरेको छ । समय निर्धारण भइनसके पनि आजै बैठक बस्ने तयारी छ ।
काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य तथा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदसहितको बैठक बस्न लागेको हो ।
सोमबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयपछि बस्न लागेको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।
देउवाले विश्वासको मत लिँदै गर्दा तटस्थ बसेका १० सांसद माधव पक्षको उक्त केन्द्रीय कमिटी बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई पनि महत्वका साथ हेरिएको छ ।
उता, एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । सोमबारदेखि जारी उक्त बैठकमा मंगलबार माधव नेपाल पार्टीमा नरहेमा के प्रभाव पर्छ भन्ने बारेमा पनि छलफल भएको थियो ।