६ साउन, दाङ । दाङमा वन मुद्दाका फरार आरोपीलाई २ वर्षपछि पक्राउ गरिएको छ । अदालतले फैसला सुनाएर पनि साढे २ वर्षदेखि वन मुद्धामा फरार रहेका दाङका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा देउखुरीको राजपुर गाउँपालिका ७ राताकासका ४५ वर्षीय निमप्रसाद विक, ६३ वर्षीय धनबहादुर विक, ६२ वर्षीया राधिका विक र ३४ वर्षीया ताराकुमारी पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
सामूहिक वन मुद्धामा २०७५ माघ १६ गते दाङ देउखुरी जिल्ला अदालतबाट मुद्दा फैसला भएको थियो । उनीहरुलाई जनही ७१ हजार ५ सय २१ रुपैयाँ पचास पैसा जरिबाना तोकिएको थियो । त्यस यता फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राजपुर गाउँपालिका वडा नम्बर ७ राताकासमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रवक्ता डीएसपी रिजालले जानकारी दिनुभएको छ ।