कमला नदीमा आएको बाढीले पश्चिमी तटबन्ध कटान गरेपछि तीनवटा पालिका बाढीको उच्च जोखिममा


६ साउन,धनुषा । बड्दो बर्षाको कारण कमला नदीमा आएको बाढीले पश्चिमी तटबन्ध तर्फ कटान सुरु गरेपछि तीनवटा पालिका बाढीको उच्च जोखिममा परेका छन् ।

कमला नदीको बाढीले बाँध कटान थालेपछि धनुषाको पुर्वी क्षेत्रका स्थानीयलाई सतर्क गराइएको छ । सोमबार राती कमलामा आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरमा पश्चिम तर्फको बाँध कटान गरेको हो । बाढीका कारण ६ सय मिटर बाँध जोखिममा परेको छ । कटान रोक्न दिनभरी सुरक्षाकर्मी र स्थानिय बासिन्दा बाँधको मर्मतमा जुटेका छन् । बाँध मर्मतका लागि ५० लाख रकम छुटयाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । बाँध बचाउन सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको उनले बताए । धनुषातर्फ किरतपुर र ढोलबज्जामा कमलाको बाढीले बाँध कटान गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए ।

कटान बारे माथिल्लो निकायमा जानकारी गराएको बताउँदै उनले कटान क्षेत्रमा बाँध बचाउन र मर्मत गर्न बजेट नभएको जनाए । अर्थ मन्त्रालयले विपत नियन्त्रण गर्ने अपातकालीन बजेट कटौति गरेका कारण बाँध बचाउन समस्या भएको उनले बताए । बाँध कटान गर्न थालेपछि बाढीले डुवान हुन सक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानियलाई सतर्क गराइएको हो । बाढी वस्ती क्षेत्रमा प्रवेश गरे शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाको गाउहरु डुवानमा पर्ने खतरा रहेको छ ।

कमलाको पश्चिमी सबैला नगरपालिका–१३ किरतपुर २ सय ७० मिटर बाँध कटान गरी पानी बस्ती क्षेत्रमा प्रवेश गर्ने जोखिम बढेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका इन्जिनियर गुदरी यादवले बताए ।

कटान रोक्न दिन भरि प्रयास भएको यादवले बताए । तटबन्ध भत्किने अवस्थामा पुगेपछि नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले पनि निरीक्षण गरेका छन् । उनले तटबन्धको दयनीय अवस्था देखेर तत्कालै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग टेलिफोनमा कुरा गरेर आवश्यक सहयोग गर्न आग्रह गरे । मन्त्री भुसालले तत्काल ५० लाख रुपैया तटबन्ध मर्मतका लागि निकासा गर्ने आश्वासन नेता यादवलाई दिइन् । साथै तटबन्ध समस्याको दीर्घकालीन समाधानका निम्ति पहल गर्ने पनि प्रतिवद्धता मन्त्री भुसालले जनाएकी नेता यादवले बताए ।

नेपाल रेडक्रस धनुषाका सभापति नरेश प्रसाद सिंहले बाढीले कमला तटबन्ध तीब्र गतिमा कटान गरिरहेको र अहिले अवस्था दयनीय भएको बताएका छन् । कुनैपनि बेला तटबन्ध भत्किन सकिने भन्दै रेडक्रस सभापति सिंहले सो क्षेत्रका बासिन्दासँग सतर्क भएर बस्न अनुरोध गरेका छन् । उनले तटबन्धले पुर्याउन सकिने क्षतिरोक्न आवश्यक संख्यामा सुरक्षाकर्मी समेत परिचालन गर्न स्थानीय प्रशासनलाई आग्रह गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको