वीरगन्ज । वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले चार नेपाली ग्राहकसहित पाँच जनालाई पक्राउ गरेको छ।
वीरगन्ज महानगरपालिका-१४, गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल फिंगर गेमिङ जोन क्यासिनोबाट प्रहरीले मंगलबार राति पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा क्यासिनोमा जुवा खेल्न गएका चार जना नेपाली नागरिक र एक जना क्यासिनो कर्मचारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलबार राति क्यासिनोमा छापा मारेको थियो।
छापा मार्ने क्रममा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा बाराको पचरौता नगरपालिका-४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका-८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका-१ का ४७ वर्षीय सुवास कुमार र रौतहटको बौधीमाई नगरपालिका-९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद पक्राउ परेका हुन्।
त्यस्तै, क्यासिनोका कर्मचारी बाराको परवानीपुर गाउँपालिका-५ घर भएका ३५ वर्षीय सुनिल पटेललाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए।











