काठमाडौं । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार आगामी असोज १० गते दोस्रो महाधिवेशन तथा मतदान हुने भएको हो।
पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भदौ २२ गते मतदाता नामावली प्रकाशन गरिएको छ भने भदौ ३० गते मतदाता नामावलीमाथि दाबी–विरोध गर्ने समय तोकिएको छ। त्यसैगरी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
निर्वाचन कार्यतालिकाअनुसार असोज १ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता हुनेछ। असोज २ गते उम्मेदवार नामावली प्रकाशन गरिनेछ भने असोज ३ गते उम्मेदवारमाथि दाबी–विरोध गर्न सकिनेछ।
त्यस्तै, असोज ४ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
कार्यतालिकाअनुसार असोज ७ गते जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नेछ। त्यसपछि असोज १० गते दोस्रो महाधिवेशन र मतदान हुनेछ भने असोज ११ गते मतगणना गरिने पार्टीले जनाएको छ।
पार्टीले असोज ९ गतेदेखि १० गतेसम्म हुने दोस्रो महाधिवेशनका लागि प्रारम्भिक ९सम्भावित० महाधिवेशन प्रतिनिधिहरूको नामावलीसमेत प्रकाशन गरेको जनाएको छ।
यसैबीच, जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भदौ २२ गते सोमबार राति ७ बजे जुममार्फत बस्ने निर्णयसमेत भएको पार्टीको सूचनामा उल्लेख छ।









