काठमाडौं । मरेको बोइलर कुखुराको मासु खाँदा कैलालीको चुरे गाउँपालिका–३ का ५ वर्षीय दीपक ताम्राकार र उनका ८ वर्षीय दाजु भीमको उपचारका क्रममा शनिबार निधन भयो । सोही मासु खाएका कारण उनीहरूका २८ वर्षीया आमा राधिका ताम्राकार र तीन वर्षीय भाइ दिपेश ताम्राकार पनि गम्भीर बिरामी परेका छन्, उनीहरूको उपचार सेती प्रादेशिक अस्पतालमा चलिरहेको छ ।
कैलालीमा मरेको कुखुराको मासु खाँदा दुई बालकको ज्यान गयो, आमा र भाइ गम्भीर
कैलालीमा मरेको कुखुराको मासु खाँदा दुई बालकको ज्यान गयो, आमा र भाइ गम्भीर
यो घटना पहिलो भने होइन, यसअघि पनि मरेको कुखुराको मासु खाँदा मानिसको ज्यान गएका घटना पटक–पटक भएका छन् । २०८१ मंसिरमा अछामको कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको पनि यस्तै घटनामा मृत्यु भएको थियो । त्यसैगरी, २०७६ सालमा बैतडीको पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको थियो भने सोही घटनामा एकै परिवारका अन्य ९ जना बिरामी परेका थिए ।
यस्ता घटना पटक–पटक भए पनि सरकार गम्भीर नदेखिएको गुनासो गुनासो छ, जसका कारण घटना बढिरहेका छन् ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले विगतमा के–के भयो भन्नेबारे अहिले नै बताउने अवस्था नरहेको तर कैलालीको घटनामा भने फार्ममा समस्या नदेखिएको बताए । उनले भने, ‘मासु खाएपछि बालकको मृत्यु भएको थाहा पाउनेबित्तिकै विशेषज्ञ टोलीले फार्मको जाँचबुझ गरेको थियो । त्यहाँ रहेका कुखुरा तथा दानाको परीक्षण गर्दा केही देखिएको छैन ।’ प्रहरीले यसबारे थप छानबिन गरिरहेको र छानबिनबाटै घटनाको कारण बाहिर आउने पनि उनले बताए ।
सरोकारवालाको दाबी
कुखुरा उत्पादनलाई लिएर विभिन्न शंका–उपशंका उब्जिरहेका छन् । कुखुरा फार्महरूमा तौल बढाउन तथा छिटो खानयोग्य बनाउन औषधि प्रयोग भइरहेको दाबी गरिएको छ । गत पुसमा आयोजित ‘कुखुराको मासुमा एन्टिबायोटिकको अत्यधिक तथा हानिकारक प्रयोग नियन्त्रण’ सम्बन्धी कार्यक्रममा एनिमल नेपालकी लाइभस्टक विभाग प्रमुख सुलक्षणा राणाले कुखुराको मासुमा एन्टिबायोटिकको प्रयोग भइरहेको बताएकी थिइन् । यसको मात्रा र यसले मानव स्वास्थ्यमा पार्ने असरबारे अध्ययन हुन आवश्यक रहेको धारणा उनले राखेकी थिइन् ।
नेपालमा कुखुराको मासुमा एन्टिबायोटिकको जथाभावी प्रयोगले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’को जोखिम बढेको छ । कुखुराको मासुबाट मानव स्वास्थ्यमा जोखिम देखिएपछि सरकारले सन् २०१६ देखि कुखुराको दानामा प्रयोग हुने एन्टिबायोटिकमा पूर्ण रूपमा रोक लगाएको छ । तर, विभिन्न अध्ययनहरूले कुखुरा फार्महरूमा अझै पनि यसको प्रयोग भइरहेको देखाएका छन् ।
फार्महरूको मनमानी
विभागका महानिर्देशक दाहालले डाक्टरको सल्लाहबमोजिम औषधिका रूपमा मात्र एन्टिबायोटिक प्रयोग गर्न पाइने तर अन्य कुनै पनि रूपमा प्रयोग गर्न नपाइने गरी रोक लगाइएको दाबी गरे । ‘डाक्टरको सल्लाहबिना एन्टिबायोटिक प्रयोग गरेको पाइए कानुनअनुसार कारबाही हुने व्यवस्था छ,’ उनले भने, ‘आफूहरूले दानामा त्यसरी एन्टिबायोटिक प्रयोग गरेको कतै नपाएको उनको दाबी छ ।’
तर, फार्म सञ्चालक तथा किसानले कुखुराको तौल बढाउन अनेकथरीका औषधि प्रयोग गर्ने गरेको समाचार आउने गरेका छन् । कतिपय फार्मले दानामा मात्र नभई पानीमा मिसाएर पनि औषधि दिने गरेको स्रोतको दाबी छ । एक भेटेरिनरी जानकारले भने, ‘फार्म सञ्चालक तथा किसानले कुखुरा छिटो बढोस् भनेर दाना र पानीमा मात्र होइन, कतिपय ठाउँमा सुईसमेत दिने गरेको भेटिएको छ ।’
सामाजिक सञ्जाल र युट्युबमा हेरेर खेतीपाती हुने गरेकाले कुखुराको ग्रोथ प्रमोटरका लागि के औषधि प्रयोग गर्ने भनेर अहिले खोजी हुने उनले बताए । ‘युट्युबले जे भन्छ, त्यही प्रयोग गर्छन् । यसकारण बोइलर कुखुराको मासुमा जोखिम देखिएको हो,’ उनले बताए, ‘तरकारीमा विषादी प्रयोग नगर्न रोक लगाइए पनि कालिमाटीको परीक्षणमा तरकारी खानयोग्य देखिँदैन, कुखुरामा पनि विभिन्न औषधि प्रयोग भइरहेको छ ।’
कस्ता–कस्ता औषधि प्रयोग हुन्छन् ?
नेपालका पशु औषधि पसलहरूमा त्यस्ता औषधि छ्यापछ्याप्ती पाइन्छन् । ‘जर्नल अफ एड्भान्स भेटेरिनरी एन्ड एनिमल रिसर्च’ले गरेको एक अध्ययनअनुसार पशु चिकित्सा औषधिको बिक्रीको ७० प्रतिशतभन्दा बढी खुद्रा पसलहरूबाट हुने गरेको छ । नेपालमा प्रयोग हुने शीर्ष सात एन्टिबायोटिकहरूमा टेट्रासाइक्लिन, एन्रोफ्लोक्सासिन, नियोमाइसिन–डक्सिसाइक्लिन, लेभोफ्लोक्सासिन, कोलिस्टिन र टाइलोसिन रहेका छन् ।
एम्पिसिलिन, एमोक्सिसिलिन, सेफ्ट्रियाक्सोन र जेन्टामाइसिन सबैभन्दा बढी गलत तरिकाले प्रयोग हुने औषधि हुन् । त्यस्तै टेट्रासाइक्लिन्स, पेनिसिलिन्स, म्याक्रोलाइड्स, स्ट्रेप्टोग्रामिन्स, एमिनोग्लाइकोसाइड्स र सल्फोनामाइड्स प्रयोग गर्न नहुने एन्टिबायोटिक समूहका औषधि हुन्, जुन नेपालमा प्रयोग भइरहेको विभिन्न अध्ययनले देखाएका छन् । वृद्धि प्रवर्धक (ग्रोथ प्रमोटर) का लागि सबैभन्दा बढी स्ट्रेप्टोग्रामिन्स प्रयोग हुने गरेको छ ।
पशु सेवा विभागमा कुखुरा विज्ञका रूपमा काम गरेका डा. नवराज श्रेष्ठ सरकारले एन्टिबायोटिक प्रयोगमा पूर्ण रूपमा बन्देज लगाए पनि कतिपय साना किसानले घरमै दाना बनाउने र त्यहाँसम्म सरकारको नजर नजाने बताउँछन् ।
‘हरेक किसानको फार्ममा गएर उनीहरूले बनाएको दाना परीक्षण गर्न सम्भव छैन,’ उनले भने, ‘डाक्टरको सिफारिसबाहेक कुनै पनि प्रकारको औषधि प्रयोगमा सरकारले बन्देज लगाएको छ ।’ विगत १२–१३ वर्षदेखि यस क्षेत्रमा आफूले काम गरेको र अनुगमनमा जाँदा कतै पनि जथाभावी औषधि प्रयोग गरेको नपाएको उनले दाबी गरे । उनले भने, ‘प्रयोगशालामा हजारौँ नमुना परीक्षण हुन्छन्, त्यसमा एक–दुईवटामा त्यस्तो भेटिनु सामान्य हो । त्यसमा पनि सरकार सचेत छ र त्यस्तालाई कारबाहीका लागि सिफारिस गरिएको छ ।’
विश्वव्यापी प्रतिबन्ध
एन्टिबायोटिकको नाममा कुखुरामा जथाभाबी औषधि प्रयोग हुन थालेपछि युरोपेली संघले सन् २००६ देखि नै त्यसमा प्रतिबन्ध लगाएको थियो । त्यसको १० वर्षपछि मात्र नेपालले त्यसलाई कार्यान्वयनमा ल्यायो ।
विश्व स्वास्थ्य संगठनले पनि एन्टिबायोटिक प्रतिरोध रोकथामका लागि वृद्धि प्रवर्धकको प्रयोग बन्द गर्न सिफारिस गरेको छ । संयुक्त राज्य अमेरिकामा पनि चिकित्सकीय रूपमा महत्त्वपूर्ण मानिएका एन्टिबायोटिकहरूलाई वृद्धि प्रवर्धकका रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
भारतले सन् २०१७ देखि कोलिस्टिन (एन्टिबायोटिक) लाई वृद्धि प्रवर्धकका रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । तर, अन्य महत्त्वपूर्ण एन्टिबायोटिकहरूको वृद्धि प्रवर्धकका रूपमा प्रयोग भने अझै भइरहेको छ, जसलाई विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध लगाउन सिफारिस गरिसकेको छ ।
एक अध्ययनले नेपालभन्दा भारतमा अत्यधिक बढी एन्टिबायोटिक औषधि प्रयोग हुने देखाएको छ । नेपालका लागि भारत मुख्य बजार हो र सीमा क्षेत्रबाट अवैध रूपमा अत्यधिक मात्रामा कुखुरा, चल्ला तथा अण्डा भित्रिने गरेका छन् ।ratopati









