उखु खरिदमा सिन्डिकेटको आरोप: रौतहटमा किसानद्वारा आन्दोलनको घोषणा


रौतहट। चिनी उद्योगीहरूले उखु खरिद-बिक्रीका नाममा कथित सिन्डिकेट लगाएको आरोप लगाउँदै रौतहटका उखु किसानहरूले आन्दोलनको घोषणा गरेका छन्।

किसानहरूका अनुसार रौतहट, बारा, पर्सा र सर्लाहीमा सञ्चालित चिनी उद्योगहरूले आपसी सहमतिमा ‘आ-आफ्नै जिल्लाभित्र मात्र उखु खरिद गर्ने’ निर्णय लागू गरेका छन्। यसले एक जिल्लामा उत्पादन भएको उखु अर्को जिल्लाको उद्योगले खरिद नगर्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ।

सिन्डिकेटकै कारण आफूले चाहेको उद्योगमा उखु बिक्री गर्न नपाएको र व्यापारिक स्वतन्त्रता कुण्ठित गरिएको किसान शिवपुजन यादवले आरोप लगाए। उनका अनुसार रौतहटका किसानहरू आफ्नै जिल्लामा सञ्चालित एक मात्र उद्योग बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इण्डस्ट्रिजलाई मात्र उखु बिक्री गर्न बाध्य भएका छन्।

यस निर्णयको विरोधमा फतुवा विजयपुर नगरपालिका-९, विजयपुर बजारमा बुधबार सयौं उखु किसान भेला भई सिन्डिकेट तत्काल खारेज गर्न माग गरेका छन्। भेलामा बोल्ने किसानहरूले माग सुनुवाइ नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए।

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र प्रसाद यादवले उखु खरिदमा लगाइएको सिन्डिकेट अविलम्ब खारेज हुनुपर्ने बताए। “किसानले उत्पादन गरेको उखु जुनसुकै उद्योगलाई निर्वाध रूपमा बिक्री गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको छ,” उनले भने, “सिन्डिकेट नहटाइए किसान सडक संघर्षमा उत्रिन बाध्य हुनेछन्।”

युवा नेता तथा किसान विजय यादवले पनि किसानले चाहेको उद्योगमा उखु बिक्री गर्न पाउने स्वतन्त्रता हुनुपर्ने धारणा राखे। उनका अनुसार विगतमा सिन्डिकेट नहुँदा किसानहरूले भुक्तानी छिटो दिने बारा र सर्लाहीका उद्योगमा उखु बिक्री गर्दै आएका थिए । तर अहिले त्यो सम्भावना बन्द गरिएको छ।

फतुवा विजयपुर नगरपालिका-९ का वडा अध्यक्ष राकेश यादव (पप्पु यादव)ले उद्योगीहरूले सिन्डिकेट लगाएर किसानमाथि अन्याय गरेको आरोप लगाए। उनका अनुसार भेलामा सहभागी किसानहरूले तत्कालका लागि बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इण्डस्ट्रिजलाई उखु बिक्री नगर्ने निर्णय गरेका छन्।

समस्या समाधान ननिस्केसम्म काटिएको उखु खेतमै राख्ने र काट्न बाँकी उखु पनि मिललाई नदिने निर्णय भएको वडा अध्यक्ष यादवले जानकारी दिए। भेलाले सिन्डिकेटविरुद्ध आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ।

पहिलो चरणमा उखु उत्पादक किसान संघर्ष समिति गठन गरी जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाललाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ। कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको अध्यक्षतामा गठित ५१ सदस्यीय संघर्ष समितिको उपाध्यक्षमा कुमार शिवाकोटी, सचिवमा राजकरण राय यादव र कोषाध्यक्षमा सुरेश यादव चयन भएका छन्। समितिले माग सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ।

उल्लेखनीय छ, कटहरिया नगरपालिका-९ डुमरियामा सञ्चालित बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इण्डस्ट्रिजमा गत वर्ष उखुको तौल घटाइएको विषयलाई लिएर किसान र मिल कर्मचारीबीच गम्भीर झडप भएको थियो। मिलले वर्षेनी काँटामा चलखेल गरी उखुको वजन घटाउँदै आएको आरोप किसानहरूले लगाउँदै आएका छन्।

यद्यपि, उक्त उद्योगका सञ्चालक बैजु प्रसाद बाबराले आफ्नो उद्योगले किसानमाथि कुनै पनि प्रकारको सिन्डिकेट नलगाएको र उखुको वजन नघटाएको दाबी गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको