मधेससँग भावनात्मक सम्बन्ध जोड्ने एमालेको रणनीति


काठमाडौँ, भदौ ४ गते ।

एमालेले मधेससँग भावनात्मक सम्बन्ध जोड्ने रणनीतिअन्तर्गत संगठनात्मक र प्रचारात्मक काम थालेको छ । सोहीअन्तर्गत उसले चौथो महाधिवेशन भएको सिराहाको विष्णुपरकट्टीमा पार्टी सचिवालय बैठक बोलाएको छ ।

ad

एमालेले नीति र नेतृत्वमा ‘डिपार्चर’ मान्दै आएको तत्कालीन मालेको चौथो महाधिवेशनस्थल सिराहाको विष्णुपरकट्टीलाई ‘राजनीतिक पर्यटन हब’का रूपमा विकास गर्ने योजना बनाएको छ । यसका लागि ७५ वर्षे इतिहास झल्काउने स्तम्भ र अन्तर्राष्ट्रिय संग्रहालय बनाउने एमालेको योजना छ ।

९ देखि १४ भदौ ०४६ मा सिराहाको विष्णुपुरकट्टीको सर्रे अम्बासमा सम्पन्न तत्कालीन नेकपा मालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए । त्यसअघि झलनाथ खनाल महासचिव थिए । यही महाधिवेशनमा कांग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्ने कार्यनीति पास गरेको थियो । भण्डारीले नौलो जनवादको सट्टा बहुदलीय प्रतिस्पर्धाको नीति अँगाल्ने कार्यक्रमसमेत पहिलोपटक प्रस्तुत गरेका थिए । तर, जबज कार्यक्रमकै रूपमा तत्काल पास भएको थिएन । भूमिगत राजनीति र सशस्त्र संघर्षको धङधङीबाट पार्टीलाई मुक्त गरेर शान्तिपूर्ण खुला राजनीतिमा उतार्ने भण्डारीको प्रयासले ०४६ को जनआन्दोनको सफलतासँगै आकार ग्रहण गरेको थियो ।

लीलानाथ श्रेष्ठ पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री
सिराहाको चौथो महाधिवेशनबाट जननेता मदन भण्डारी पहिलोपटक महासचिवमा निर्वाचित हुनुभयो, जबजको कार्यक्रम पनि पहिलोपटक पेस भएको हो, पछि पाँचौँ महाधिवेशनले पास गर्‍यो । महाधिवेशनले पञ्चायत ढाल्न कांग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्ने कार्यनीति पास गरेअनुसार संघर्ष अगाडि बढेर चैतभित्र बहुदलीय व्यवस्था स्थापना भएको हो, त्यसैले यस्तो ऐतिहासिक स्थलको संरक्षणका लागि नेपालको कम्युनिस्ट आन्दोलन ७५ वर्ष पुगेकाले इतिहास झल्किने गरी ९ भदौमा अध्यक्षले स्तम्भ शिलान्यास गर्नुहुन्छ ।

नीति र नेतृत्वको त्यही विरासत स्मरणीय बनाउन एमालेले त्यस क्षेत्रको संरक्षण र संवद्र्धन गर्न ७५ वर्षको इतिहास झल्किने गरी स्तम्भ निर्माण गर्ने योजना बनाएको हो । सचिवालय बैठक सकिएपछि ९ भदौमा अध्यक्ष केपी ओलीले स्तम्भको शिलान्यास गर्ने पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठले बताए ।

‘सिराहाको चौथो महाधिवेशनबाट जननेता मदन भण्डारी पहिलोपटक महासचिवमा निर्वाचित हुनुभयो, जबजको कार्यक्रम पनि पहिलोपटक पेस भएको हो, पछि पाँचौँ महाधिवेशनले पास गर्‍यो,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘महाधिवेशनले पञ्चायत ढाल्न कांग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्ने कार्यनीति पास गरेअनुसार संघर्ष अगाडि बढेर चैतभित्र बहुदलीय व्यवस्था स्थापना भएको हो, त्यसैले यस्तो ऐतिहासिक स्थलको संरक्षणका लागि नेपालको कम्युनिस्ट आन्दोलन ७५ वर्ष पुगेकाले इतिहास झल्किने गरी ९ भदौमा अध्यक्षले स्तम्भ शिलान्यास गर्नुहुन्छ ।’

मधेसमा एमालेको अलग्गै मिसन 
एमालेले मधेस प्रदेशमा आन्तरिक एकतामा जोड दिँदै संगठन विस्तार अभियान चलाइरहेको छ । सचिव योगेश भट्टराई इन्चार्ज भएपछि एमालेले मधेसमा एक वर्षभित्र संगठित सदस्यता कम्तीमा एक लाख ७५ हजार पुर्‍याउने गरी विस्तार अभियान चलाएको छ ।

४ र ५ असोजमा प्रदेश अधिवेशनअगावै ३० हजार नयाँ संगठित सदस्यलाई एकै दिन पार्टीमा भित्र्याउने गरी एमालेले कार्यक्रम तय गरेको छ । वीरगन्जमा अलग्गै प्रदेश प्रचार कार्यालय स्थापना गरेर एमालेले डिजिटल टोली निर्माण गरी प्रचारमा जोड दिएको छ ।

जसअनुसार शुक्रबार महासचिव शंकर पोखरेलको उपस्थितिमा कार्यालय उद्घाटन गरेर वेबसाइट निर्माण, टिकटकलगायतमा पार्टी नीति र योजना प्रचार गर्ने योजना एमालेले सार्वजनिक गरेको छ । दुई साताकै बीचमा एमालेले नेकपा एसबाट दुई केन्द्रीय सदस्य डिल्ली उप्रेती, साधुराम चौलागाईंसहित त्यस पार्टीबाट प्रदेश र जिल्ला नेतृत्व तहका दुई दर्जन नेतालाई पार्टीमा भित्र्याएको छ भने माओवादीबाट प्रदेशस्तरका केही नेतालाई प्रवेश गराएको छ । भट्टराईको उपस्थितिमा प्रदेश बैठकले आगामी चैत्रभित्र आठवटा जिल्ला कमिटी, एक सय ३६ पालिका कमिटी, १२ सय ७१ वडा कमिटी र ११ हजार चार सय ३९ वटा टोल कमिटीको अधिवेशन तथा गठन–पुनर्गठन सम्पन्न गर्ने प्रदेशले निर्णय गरेको छ ।

त्यस्तै, मधेसको आर्थिक–सामाजिक रूपान्तरणको तत्कालीन तथा दीर्घकालीन कार्यक्रम तयारीका लागि जुली महतोको संयोजकत्वमा अलग्गै समिति बनाएर काम अगाडि बढाएको छ । पछिल्लो आमनिर्वाचनमा मधेसमा पहिलो दल बनेपछि उत्साहित एमालेले मधेसको पार्टी कामलाई विशेष महŒवका साथ अगाडि बढाइरहेको छ ।

अन्तर्राष्ट्रियस्तरको संग्रहालय बनाउने
विष्णुपरकट्टी पूर्व–पश्चिम राजमार्गबाट ११ किमि टाढा धनगढीमाई नगरपालिकामा पर्छ । तत्कालीन अधिवेशन भएको घर संरक्षण गरी एमालेले स्तम्भ र अन्तर्राष्ट्रियस्तरको संग्रहालय निर्माणका लागि तीन वर्षअघि नै १४ कट्ठा जमिन खरिद गरी तारबार गरेको छ । त्यस्तै, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत सहयोगमा पनि थप ६ कट्ठा जमिन पनि खरिद भएको छ । श्रेष्ठका अनुसार चौथो महाधिवेशन सम्पन्न भएको घरमै एमालेका १७ जना सचिवालयका नेताहरू बैठकमा सहभागी हुनेछन् । ३४ वर्षअघि त्यही घरमा देशभरबाट ९५ जना प्रतिनिधि भूमिगत रूपमा अधिवेशनस्थल पुगेका थिए ।

पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठले शिलान्यासलगत्तै तीन–चार महिनाभित्र काम सम्पन्न गर्ने गरी अहिले पहिलो चरणमा स्तम्भको ‘डिजाइन’को काम भइरहेको बताए । ‘डिजाइन’को काम सकिएपछि संग्राहलय कस्तो बन्ने टुंगो लाग्ने उनको भनाइ छ । स्तम्भ र संग्रहालयका लागि एमालेले केन्द्रीय कोषका अतिरिक्त स्वःस्र्फुत रूपमा नेता–कार्यकर्ताबाट स्रोत जुटाउने तयारी गरेको छ ।

‘अन्य मुलुकबाट कम्युनिस्ट पार्टीका नेताहरू आउँदा पनि घुम्न र अध्ययन गर्न मिल्ने गरी स्तम्भ र संग्रहालय बनाउँछौँ,’ श्रेष्ठले भने, ‘अन्य मुलुकमा जसरी चर्चित कम्युनिस्ट नेताहरूको जन्मस्थल, सम्मेलनस्थललाई पर्यटन गन्तव्यका रूपमा संरक्षण गरिएको छ, हामीले पनि त्यस्तै गर्न खोजिरहेका छौँ ।’

केन्द्रीय कमिटीबाटै निर्णय गरेरै पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव) विविध कार्यक्रमसहित मनाइने निर्णय गरेको थियो । जसअनुसार नेपाली कम्युनिस्ट आन्दोलनको आधिकारिक इतिहास लेखन, लोकतन्त्र र रूपान्तरणका लागि भएका संघर्ष, ७५ वर्षे यात्राको वृत्तचित्र निर्माण, ‘सेल्टर’ पुस्तक प्रकाशन, ऐतिहासिक स्थलहरूको संरक्षण र संवद्र्धन र अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको थियो । त्यसअनुसार नै एमालेले सिराहामा सचिवालय बैठक आयोजना गर्न लागेको हो ।

केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले नीति र नेतृत्वका हिसाबले पार्टीको चौथो महाधिवेशन ऐतिहासिक भएकै कारण पार्टीले ऐतिहासिक स्थलको प्रवद्र्धन गर्ने गरी बनाएको योजनालाई कार्यान्वयन गर्न लागिएको बताए । ‘चीनमा माओलगायत ठूला नेता जन्मिएको र महाधिवेशन भएको ठाउँलाई जसरी संरक्षण गरिएको छ, त्यही स्तरबाट गर्न नसकिए पनि हामीले पनि धेरै कुरा सिकेर केही काम गर्न लागेका हौँ,’ विष्टले भने ।  नयाँ पत्रिका


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको