सर्पदंशबाट बालकको मृत्युपछि भगवानपुर तनावग्रस्त, स्वास्थ्य केन्द्रमा तोडफोड


सिरहा। सर्पदंशबाट पीडित एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका-४ कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर तनावग्रस्त बनेको छ। घटनापछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन्।

स्थानीयका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई सर्पले डसेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको थियो। उपचारमा ढिलाइ भएको तथा एम्बुलेन्स समयमै उपलब्ध नगराइएकै कारण बालकको मृत्यु भएको आरोप स्थानीयले लगाएका छन्।

स्थानीयको दाबीअनुसार एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि उपचारमा ढिलाइ भएको थियो। बालकलाई थप उपचारका लागि लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयको भनाइ छ।

घटनापछि गाउँपालिका अध्यक्षसँग बिहान ११ बजे वार्ता गर्ने सहमति भए पनि अध्यक्ष वार्तास्थलमा नआएको भन्दै आन्दोलनकारी थप आक्रोशित बनेका छन्। आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले अध्यक्ष वार्तामा उपस्थित नभएको आरोप लगाएका छन्।

हाल स्थानीयले हुलाकी सडकमा टायर र दाउरा बालेर चक्काजाम गरेका छन्। सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

यता प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। एम्बुलेन्स सञ्चालनसम्बन्धी प्रक्रिया, उपचारमा ढिलाइ भएको वा नभएको तथा बालकको मृत्युमा कुनै लापरबाही भए–नभएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे स्वास्थ्य संस्था र गाउँपालिका अध्यक्षको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको