विश्वकप २०२६ को उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


काठमाडौं । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल आज ९आइतबार० हुँदैछ। अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने उपाधि भिडन्तमा महादेशीय च्याम्पियन स्पेन र साविक विश्वविजेता अर्जेन्टिना आमनेसामने हुनेछन्।

साविक च्याम्पियन अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्दै इतिहास रच्ने लक्ष्यमा छ। प्रशिक्षक लियोनेल स्कालोनीको टोलीले उपाधि रक्षा गर्न सफल भए सन् १९६२ पछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो राष्ट्र बन्नेछ।

अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो। एन्थोनी गोर्डनले इंग्ल्यान्डलाई अग्रता दिलाए पनि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोलमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको थियो। प्रतियोगिताभर अर्जेन्टिनाले सात खेलमा १९ गोल गर्दै सबैभन्दा आक्रामक टोलीको रूपमा आफूलाई स्थापित गरेको छ।

यता स्पेन सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्ने अभियानमा छ। प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले प्रतियोगिताभर सातै खेल जितेको छ भने केवल एक गोल मात्रै व्यहोरेको छ।

स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गरेको थियो। मिकेल ओयार्जाबाल र पेड्रो पोरोको गोलमा स्पेन सहज जित निकाल्दै फाइनल पुगेको हो। बलियो रक्षापंक्ति स्पेनको सबैभन्दा ठूलो शक्ति मानिएको छ।

मेस्सीको सम्भावित अन्तिम विश्वकप फाइनल

यस फाइनललाई अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको विश्वकप करियरको अन्तिम खेल हुन सक्ने अनुमान गरिएको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका मेस्सी गोल्डेन बल र गोल्डेन बुटका प्रमुख दाबेदारसमेत रहेका छन्।

स्पेनका युवा स्टार लामिन यामाल पनि उत्कृष्ट लयमा छन्। उनले गोल र असिस्ट मात्र नभई निरन्तर आक्रमण सिर्जना गर्दै विपक्षी रक्षापंक्तिलाई दबाबमा राख्दै आएका छन्।

सम्भावित सुरुवाती टोली

स्पेनस् उनाइ सिमोन, पेड्रो पोरो, पाउ कुबार्सी, आयमेरिक लापोर्ते, मार्क कुकुरेला, रोड्री, फाबियन रुइज, लामिन यामाल, डानी ओल्मो, आलेहान्द्रो बाएना, मिकेल ओयार्जाबाल।

अर्जेन्टिनास् एमिलियानो मार्टिनेज, गोन्जालो मोन्टियल, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलस टालियाफिको, रोड्रिगो डे पाउल, लियान्द्रो पारेडेस, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, लियोनेल मेस्सी, जुलियन अल्भारेज।

मौसमको चुनौती

फाइनल खेल हुने न्युयोर्क–न्यु जर्सी क्षेत्रमा क्यानडाको डढेलोबाट फैलिएको धुवाँका कारण केही असर देखिएको छ। यद्यपि खेलअघि वर्षाको सम्भावना रहेकाले वायु प्रदूषण कम हुने अपेक्षा गरिएको छ।

विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिका लागि हुने यस रोमाञ्चक भिडन्तमा अर्जेन्टिना इतिहास दोहोर्‍याउने लक्ष्यमा हुनेछ भने स्पेन १६ वर्षपछि पुनः विश्वकप ट्रफी उचाल्ने प्रयासमा मैदान उत्रिनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको