महोत्तरी। गौशाला बजार विगतदेखि महत्वपूर्ण व्यापारिक तथा ऐतिहासिक केन्द्रका रूपमा परिचित रहँदै आएको भए पनि पछिल्लो समय बजार क्षेत्र अव्यवस्थित बन्दै गएको गुनासो बढेको छ।
स्थानीयका अनुसार जथाभावी पसल सञ्चालन, फोहोर व्यवस्थापनमा कमजोरी, सडक अतिक्रमण तथा सरसफाइको अभावका कारण बजारको सौन्दर्य, जनस्वास्थ्य र वातावरणमा नकारात्मक असर परेको छ।
यही अवस्थालाई मध्यनजर गर्दै गौशाला युवा सञ्जाल ले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। सञ्जालले बजार क्षेत्रलाई व्यवस्थित बनाउन, नियमित सरसफाइ सुनिश्चित गर्न तथा सार्वजनिक स्थानको संरक्षणका लागि तत्काल पहल गर्न माग गरेको छ।
सञ्जालका अनुसार ध्यानाकर्षण पत्र गौशाला नगरपालिका, वडा नं. ५ कार्यालय, इलाका प्रहरी कार्यालय गौशाला, इलाका प्रशासन कार्यालय गौशाला, बजार व्यवस्थापन समिति तथा उद्योग वाणिज्य संघलाई पठाइएको छ।
यस्तै, स्थानीय व्यापारी, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई बजार सरसफाइ र व्यवस्थापनमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरिएको छ। सबै पक्षको सहकार्यबाट स्वच्छ, सुरक्षित र व्यवस्थित बजार निर्माण गर्न सकिने विश्वास व्यक्त गरिएको छ। – shiris news










