धनुषा। जनकपुरधाम स्थित मिल्स एरियामा रहेको दुर्गा ट्रेडलिन्क मा आगलागी हुँदा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ।
शनिबार दिउँसो करिब साढे १२ बजे खोलिएको पसल बिदाको दिन भएकाले केही समयपछि बन्द गरिएको थियो। करिब ३ बजेतिर स्थानीयले पसलबाट धुवाँ निस्किएको देखेपछि सटर तोडेर आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए।
पछि जनकपुरधाम उपमहानगरपालिका बारूणयन्त्र को टोलीले आगो नियन्त्रणमा लिएको थियो।
आगलागीबाट पसलभित्र रहेका अधिकांश फर्निसिङ सामग्री जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार करिब ८० प्रतिशतभन्दा बढी सामग्रीमा क्षति पुगेको छ भने क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।
धनुषा प्रहरीले प्रारम्भिक रूपमा विद्युत् सर्टसर्किटका कारण आगलागी भएको जनाएको छ। पछिल्ला वर्षहरूमा जनकपुर क्षेत्रमा यस्तै कारणले आगलागीका घटना दोहोरिँदै आएका छन्।









