बर्दिबास। महोत्तरीको बर्दिबासस्थित बर्दिबास उद्योग वाणिज्य संघमा निर्वाचन नजिकिँदै गर्दा मतदाता सूचीलाई लिएर विवाद चर्किएको छ। संघलाई साझा व्यावसायिक संस्था भनिए पनि यसलाई राजनीतिक थलो बनाइएको आरोप व्यापारीहरूले लगाएका छन्।
पीडित व्यापारी रबिन गौतमले निर्वाचन समितिमाथि गम्भीर आरोप लगाउँदै करिब २५०० भन्दा बढी मतदाता रहेको संस्थामा झण्डै १२०० मतदाता मात्र कायम गरी बाँकी करिब १३०० व्यापारीको मताधिकार खोस्ने प्रयास गरिएको बताएका छन्।
गौतमका अनुसार उनले २०८२ साल कात्तिक १२ गते रसिद नम्बर २९७ र २९८ मार्फत आफ्ना दुईवटा फर्म नवीकरण गराएका थिए। तर पनि अहिले पुरानो नवीकरण नभएको बहाना बनाउँदै आफूजस्ता ४/५ सय व्यापारीलाई मताधिकारबाट वञ्चित गरिएको उनको गुनासो छ।
उनले प्रश्न उठाएका छन् – यदि नवीकरण मान्य थिएन भने सोही आर्थिक वर्षको शुल्क किन लिइयो? किन समयमै जानकारी वा पत्राचार गरिएन? साथै, व्यवसायिक क्षमताभन्दा बढी नवीकरण शुल्क निर्धारण गरिएको विषय पनि विवादास्पद रहेको उनले बताए।
गौतमले यसप्रति घोर आपत्ति जनाउँदै समस्या समाधान नगरे सम्बन्धित निकायसम्म पुगेर निर्वाचन छानबिन गराउने र आवश्यक परे चुनाव स्थगित गराउन पहल गर्ने चेतावनी दिएका छन्।
उनका अनुसार करिब ८० प्रतिशत मतदाता एकपक्षीय रूपमा छनोट गरी अपारदर्शी ढंगले चुनाव गराउने प्रयास भइरहेको देखिएको छ। उनले बर्दिबासका सम्पूर्ण व्यवसायीलाई यस्तो गतिविधिको विरोध गर्न आह्वान गरेका छन्।









