जनकपुरधाम। चैती छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइँदै मधेशका विभिन्न स्थानमा उल्लासपूर्वक मनाइँदै छ।
चैती छठको मूल विधिअनुसार आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् भने भोलि बिहान उदाउँदो सूर्यदेव (दिनानाथ) लाई अर्घ्य दिएपछि पर्व विधिवत् समापन हुनेछ।
जनकपुरधामका गंगासागर र अर्गजा सागर मा यो पर्व विशेष धुमधामका साथ मनाउने गरिन्छ। यस वर्ष पनि यी स्थानहरू दुलहीझैँ सिंगारिएका छन्।
धार्मिक मान्यताअनुसार चैती छठ गर्दा मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग नलाग्ने विश्वास रहिआएको छ।
चार दिनसम्म अत्यन्त नियम र निष्ठासाथ मनाइने यस पर्वको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति खिर ग्रहण गरिन्छ। तेस्रो दिन अर्थात् षष्ठीमा निराहार उपवास बसेर साँझ जलाशयमा स्नान गरी सूर्यलाई अर्घ्य दिइन्छ।
अर्घ्य दिने क्रममा व्रतालुहरूले ठेकुवा, भुसुवा, मुला, उखु, केरा, नरिवल लगायतका सामग्री प्रसादका रूपमा चढाउने परम्परा रहेको छ।
व्रतालुहरू रातभर जागराम बसेर भोलिपल्ट सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन गर्ने चलन छ।
कात्तिक महिनामा मनाइने छठको तुलनामा कम भए पनि चैती छठ मनाउनेहरूको संख्या पछिल्ला वर्षहरूमा क्रमशः बढ्दै गएको छ।









