सर्लाही। पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्या लोकसेवा परीक्षाका प्रतिस्पर्धीले योजनाबद्ध रूपमा गरेको खुलेको छ। प्रहरीले हत्या आरोपमा तीन जनालाई सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मुख्य अभियुक्त महोत्तरीको रामगोपालपुर नगरपालिका-५ का ३४ वर्षीय गणेशकुमार महतो हुन्। उनी सर्लाहीको बरहथवा-९ शान्ति टोलमा बस्दै आएका थिए र रामनगर गाउँपालिकामा करारका प्राविधिक सहायकका रूपमा कार्यरत थिए।
यादव र महतोले गत वर्ष मधेश प्रदेश लोक सेवा आयोगको सहायक पाँचौँ तह (सब-इन्जिनियर) पदका लागि परीक्षा दिएका थिए। परीक्षामा यादव उत्तीर्ण भई २०८१ फागुन ४ गते नियुक्तिका लागि सिफारिस भएका थिए भने महतो वैकल्पिक सूचीमा परेका थिए।
कानुनी प्रावधानअनुसार नियुक्त भएको उम्मेदवार एक वर्षभित्र पद रिक्त भए वैकल्पिक उम्मेदवारले अवसर पाउने व्यवस्था रहेको छ। सोही अवसर पाउने नियतले महतोले हत्या योजना बनाएको प्रहरीको दाबी छ।
फागुन ३ गते मलंगवा नगरपालिका-१० स्थित डेराबाट फोनमार्फत बोलाएर यादवमाथि गोली प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको थियो।
यसरी बन्यो हत्या योजना
प्रहरीका अनुसार घटनाको दिन महतो आफ्ना साला चन्द्रकिशोर सिंह कुशवाहासँग भारतीय नम्बर प्लेटको मोटरसाइकलमा मलंगवा पुगेका थिए। महतोले ह्वाट्सएप कलमार्फत यादवलाई बाहिर बोलाएका थिए र त्यहीँ गोली प्रहार गरिएको थियो।
घटनामा संलग्न महतो र उनका साला पक्राउ परेका छन् भने हतियार उपलब्ध गराएको आरोपमा महतोका भाइ २२ वर्षीय विजयकुमार महतो पनि पक्राउ परेका छन्।
प्रहरी अनुसन्धानअनुसार लोकसेवा आयोगको अन्तर्वार्ताका क्रममा उनीहरूबीच चिनजान भएको थियो। महतोले ‘राकेश यादव’ नामबाट परिचय दिएका थिए र त्यसपछि निरन्तर सम्पर्कमा रहेका थिए।
हत्या योजनाअनुसार दसैँअघि भाइ विजयलाई पेस्तोल किन्न ८० हजार रुपैयाँ दिएको खुलेको छ। प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल, गोलीको खोका, मोटरसाइकल र तीन थान मोबाइल बरामद गरेको जनाएको छ।
घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले गरिरहेको छ। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।









