महोत्तरी। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रसहितका सबै निर्वाचन सामग्री महोत्तरी आइपुगेको छ। जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार मतदानका लागि आवश्यक ८१ प्रकारका सामग्री जिल्ला भित्र्याइएको हो।
प्राप्त सामग्रीमा मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, क्रमसंख्यासहितका मतपेटिका, सुरक्षा सिल, रातो र कालो स्टिकर, रङ्गीन तथा सादा फोटोसहितको मतदाता नामावलीलगायतका सामग्री रहेका छन्।
निर्वाचन आयोगबाट प्राप्त समानुपातिक तथा प्रत्यक्षतर्फका मतपत्र नेपाली सेनाको सुरक्षा स्कर्टिङमार्फत चारवटै निर्वाचन क्षेत्रमा सुरक्षित रूपमा वितरण गरिएको छ। परिकौलीस्थित गोरखनाथ गणका सेनानी रामप्रसाद लामिछानेका अनुसार क्षेत्र नं. १ (बर्दिबास), २ (बनौटा), ३ (जलेश्वर) र ४ (रामगोपालपुर) मा मतपत्र वितरण सम्पन्न भइसकेको छ।
जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले अन्य मतदान सामग्री पनि चारवटै क्षेत्रमा पठाइसकिएको जानकारी दिँदै कर्मचारी नियुक्ति तथा परिचालन कार्य तीव्र गतिमा भइरहेको बताइन्। उनका अनुसार चारवटै क्षेत्रमा ५३९ मतदान अधिकृत, ५३९ सहायक मतदान अधिकृत, १,६०८ सहायक कर्मचारी र ५३९ कार्यालय सहयोगीसहित कुल ३,६०८ कर्मचारी परिचालन गरिएको छ। खटाइएका कर्मचारीलाई निर्वाचनसम्बन्धी प्रशिक्षणसमेत दिइएको छ।
प्रशिक्षणमा निर्वाचन निर्देशिका, मतदान केन्द्रको कार्यप्रक्रिया, मतपेटिका बुझाउनेसम्मका जिम्मेवारी तथा नमुना मतदान अभ्यास गराइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
महोत्तरीका २५८ मतदानस्थलअन्तर्गत ३ अस्थायी केन्द्रसहित ५३९ मतदान केन्द्रमा सामग्री पठाउने तयारी भइरहेको छ। सबैभन्दा ठूलो भूभाग ओगटेको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत ५९ मतदानस्थलका १३० मतदान केन्द्रमा सामग्री वितरण अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए।
निर्वाचन सामग्री समयमै आइपुगेसँगै महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।









