सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसका उज्ज्वलप्रसाद बराल र एमालेका प्रदीपकुमार कटुवालबीच कडा टक्कर हुने लगभग निश्चितजस्तै बनेको छ।
तीन दशकसम्म प्रभाव जमाएको क्षेत्र २०७९ मा कांग्रेसले जितेपछि एमाले आफ्नो पुरानो ‘गढ’ फिर्ता गर्ने रणनीतिमा छ भने कांग्रेस हात लागेको शक्ति जोगाउन सक्रिय छ। दुवै दलका लागि यो चुनाव साखको विषय बनेको छ।
२०४८ देखि २०७४ सम्म निरन्तर जित्दै आएको एमालेलाई २०७९ मा पाँचदलीय गठबन्धनसहित कांग्रेसले पराजित गरेको थियो। उक्त निर्वाचनमा कांग्रेसका श्यामकुमार घिमिरे ३० हजार ३९१ मतसहित विजयी भएका थिए भने एमालेका प्रदीप कटुवालले २५ हजार ५४६ मत प्राप्त गरेका थिए।
एमाले जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठका अनुसार अघिल्लो निर्वाचनका उपविजेता कटुवाललाई यसपटक विजयी गराई ‘लाल किल्ला’ पुनः फिर्ता गर्ने लक्ष्य राखिएको छ। प्रदेशसभा सदस्य हुँदै बागमती प्रदेशका स्वास्थ्य मन्त्रीसमेत भइसकेका कटुवाल संगठनमा जमेका नेता भएकाले यसपटक सफलता हात पार्नेमा एमाले विश्वस्त देखिन्छ।
कटुवालले २०७९ को समानुपातिक मत परिणामलाई आधार मान्दै अंकगणित आफ्नो पक्षमा रहेको दाबी गरेका छन्। त्यतिबेला समानुपातिकतर्फ एमालेले २२ हजार ३४९ मत ल्याउँदा कांग्रेसले १८ हजार २४२ मत प्राप्त गरेको थियो। तत्कालीन माओवादी केन्द्रले १२ हजार ३८१ मत पाएको थियो। अघिल्लो चुनावमा कांग्रेस-माओवादी गठबन्धन थियो भने यसपटक ठूला दलहरू आ-आफ्नै चुनावी मैदानमा छन्।
यता कांग्रेसका उम्मेदवार बराल पुराना, अनुभवी र जनताबीच सक्रिय नेता मानिन्छन्। निवर्तमान जिल्ला सभापतिसमेत रहेका बराल हालै सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। यसअघि दुई पटक उम्मेदवार बने पनि पराजित भएका बरालले पदमा नरहँदा पनि जनताको समस्यामा साथ दिएको दाबी गर्छन्। कार्यकर्ताहरूले उनी निर्वाचित भई कांग्रेस सरकार बने जिल्लाबाट मन्त्री बन्न सक्ने अपेक्षा गरेका छन्।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवेशले चुनाव झनै रोचक बनेको छ। नेकपाका डेकेन्द्रप्रसाद सुवेदी र रास्वपाका धनेन्द्र कार्की पनि प्रतिस्पर्धामा छन्। यद्यपि मुख्य भिडन्त भने कांग्रेस र एमालेबीच नै हुने चर्चा मतदाताबीच छ।
मतदातामा पुराना दलप्रति केही असन्तोष पनि देखिन्छ। निर्वाचन जितेर गएपछि गाउँ नफर्किने, वाचा पूरा नगर्ने र विकासमा चासो नदेखाउने गुनासाबीच यसपटक विश्वास जित्नु उम्मेदवारका लागि चुनौतीपूर्ण बनेको छ।
सिन्धुली-१ मा विभिन्न दल तथा स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।









