सिरहा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर-४ मा चुनावी माहोल यतिखेर निकै रोचक बनेको छ। उक्त क्षेत्रमा पाँच पूर्वमन्त्रीसहित प्रमुख दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
यस क्षेत्रमा जनमत पार्टीका निवर्तमान सांसद एवं पूर्वमन्त्री डा. बिरेन्द्र प्रसाद महतो उम्मेदवार छन्। साथै पूर्वमन्त्रीहरू राजकिशोर यादव, अजय शंकर नायक, बिश्वेन्द्र पासमान, धर्मनाथ साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तपेश्वर यादव पनि चुनावी मैदानमा रहेका छन्।
गत निर्वाचनको मतपरिणामलाई आधार मान्दा जनमत पार्टी उपविजेता बनेको थियो। पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्मल मण्डलले यस क्षेत्रमा ४१ वटै वडामा संगठन बलियो रहेको दाबी गर्दै यसपटक आफ्ना उम्मेदवार विजयी हुने बताएका छन्।
स्थानीयवासीका अनुसार ‘हरन’ चुनाव चिह्नका उम्मेदवार डा. महतोको काम र सामाजिक उत्तरदायित्वबारे चर्चा बढी छ। विष्णुपुर निवासी ई. जितेन्द्र यादवले विगतदेखि हालसम्मको विकास उपलब्धि तुलना गर्दा डा. महतोको कार्यकालमा उल्लेखनीय विकास भएको दाबी गरे। उनका अनुसार मतदाताले कामकै आधारमा मत दिने बताएका छन्।
कल्याणपुर नगरपालिकाका प्रदीप यादवले डा. महतोले आफ्नो पालिकामा २५ करोड रुपैयाँभन्दा बढी बजेट ल्याएर विकास कार्य गराएको दाबी गरे। कर्जन्हा नगरपालिकामा स्वास्थ्य सेवामार्फत हजारौं बिरामीको निःशुल्क शल्यक्रिया गराएको भन्दै केही स्थानीयले पनि उनलाई समर्थन जनाएका छन्।
निर्चैया-१० का संजीव यादवका अनुसार डा. महतोले चार सयभन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी दिएको दाबी गरिएको छ। अन्य उम्मेदवारहरू मन्त्री हुँदा पनि युवालाई रोजगारीको अवसर नदिएको आरोपसमेत स्थानीयले लगाएका छन्।
क्षेत्रको समग्र माहोल हेर्दा नयाँ अनुहारभन्दा पनि डा. बिरेन्द्र प्रसाद महतोको चर्चा बढी रहेको केही स्थानीय अगुवाहरूको भनाइ छ। दलित समुदायका अगुवा अविनास सदायले मतदाताको झुकाव महतोतर्फ देखिएको दाबी गरेका छन्।
यद्यपि अन्तिम निर्णय भने मतदाताको मतबाटै हुने भएकाले सिरहा-४ को चुनावी प्रतिस्पर्धा कसको पक्षमा जाने भन्ने विषय चासोका साथ हेरिएको छ।









