जैमिनीमा बाँदर आतंक: नियन्त्रणको प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र भोट दिने मतदाताको अडान


१४ फागुन, ढोरपाटन (बागलुङ) – रासस। बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न पुगेका उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने स्पष्ट नीति ल्याउन आग्रह गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँ-गाउँमा पुगेका उम्मेदवारसँग स्थानीयले बाँदर आतंकका कारण गाउँमा बस्नै कठिन भएको गुनासो गरेका हुन्।

जैमिनी नगरपालिका-५ की कुमारी थापाले बसाइँसराइका कारण गाउँ रित्तिँदै गएपछि बाँदरहरू घरमै पसेर बस्न थालेको बताइन्। बारीमा लगाएको बालीदेखि घरभित्र राखिएको सरसामानसम्म बाँदरले नष्ट गर्ने गरेको उनको भनाइ छ।

‘बाँदरले गाउँमा बस्न गाह्रो बनाइसक्यो। न बाली राम्रो हुन दिन्छ, न घरका सामान सुरक्षित छन्,’ उनले भनिन्, ‘पहिला विकास नभएर मानिस बजार झरे, अहिले विकास भए पनि बाँदरका कारण गाउँ छोड्नुपर्ने अवस्था आएको छ। जसले बाँदर नियन्त्रण गर्ने योजना ल्याउँछ, उसैलाई भोट दिने हो।’

स्थानीय प्रतीमा पौडेलले पनि पछिल्लो पाँच वर्षयता बाँदरको समस्या झनै बढेको बताइन्। पहिले वन क्षेत्रमा सीमित बाँदर अहिले गाउँमै बस्न थालेको भन्दै उनले बालबालिका र वृद्धवृद्धामाथि आक्रमणको जोखिम बढेको उल्लेख गरिन्।

‘मेलापात जाँदा घर कुरुवा राखेर जानुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘पहिले गाउँमा धेरै मानिस हुँदा बाँदर डराउँथे, अहिले त धपाउन खोज्दा उल्टै आक्रमण गर्न आउँछन्। यस्तो अवस्थामा गाउँमा बस्न सक्ने अवस्था छैन।’

बरेङ-१ का तमबहादुर विकले जनताको आवश्यकता बुझेर काम गर्ने उम्मेदवारलाई मात्र भोट दिने बताए। धेरै नेताहरू भोट माग्न आएको उल्लेख गर्दै उनले यसपालि किसानका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई समर्थन गर्ने बताए।

स्थानीयवासीले चुनावी भाषणभन्दा व्यवहारिक योजना आवश्यक रहेको भन्दै बाँदर नियन्त्रण गरी गाउँमा सुरक्षित बसोबासको वातावरण मिलाइदिन उम्मेदवारहरूसँग माग गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको