१३ फागुन, धनुषा। रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समग्र देशको विकासका लागि काम गर्ने दल भएको बताएका छन्। बुधबार जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शनपछि समर्थकलाई सम्बोधन गर्दै उनले तराई, पहाड र हिमाल छुट्याएर राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुने दाबी गरे।
उनले देश र मधेशलाई अलग गरेर राजनीति गर्ने युग समाप्त गर्न रास्वपा लागेको उल्लेख गर्दै इमानदारीपूर्वक जनताको मतको कदर गर्दै अघि बढ्ने बताए। दशकौँदेखि विभेद र अन्यायमा परेको मधेशलाई प्राथमिकतामा राख्दै यहाँका धार्मिक पर्यटनको विकासमा विशेष ध्यान दिने उनको भनाइ थियो।
लामिछानेले अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा उठाए पनि विभेदको विषय पर्याप्त उठाउन नसकेको स्वीकार गर्दै यसपटक विभेद अन्त्यसँगै सुशासन स्थापनाका लागि गम्भीर रूपमा लाग्ने प्रतिबद्धता जनाए।









