विराटनगर। मोरङको लेटाङ नगरपालिका-२ फँडानीकी १२ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या गरिएको घटनाका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको छ।
न्यायाधीश टंकबहादुर महतको इजलासले ५९ वर्षीय अधिकारीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश बिहीबार दिएको हो। आदेशपछि अधिकारीलाई जिल्ला कारागार मोरङ चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
उनका अनुसार नेपाल सरकारतर्फका वादी र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस सम्पन्न भएपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म अधिकारीलाई थुनामा राख्ने आदेश भएको हो।
अंशु गौतम असोज २१ गतेदेखि बेपत्ता भएकी थिइन्। उनको शव कात्तिक ७ गते जंगलमा फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पदमबहादुर अधिकारीलाई मंसिर १८ गते पक्राउ गरेको थियो। ‘जस्टिस फर अंशु गौतम’ अपरेसनमार्फत पक्राउ परेका अधिकारीलाई प्रहरीले मंसिर २१ गते सार्वजनिक गरेको थियो।
अंशुको बुबा नवीन गौतमले अधिकारीविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले अधिकारीविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी मुद्दामा अनुसन्धान गरेको थियो। अनुसन्धान पूरा भएपछि प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएको र त्यसका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो।
सूचना अधिकारी बुढाथोकीका अनुसार हाल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको हो। अब अन्तिम सुनुवाइपछि जिल्ला अदालतले यस मुद्दाको किनारा लगाउनेछ।









