सिन्धुलीमा युवकको गोली लागेर मृत्यु, घटनाको अनुसन्धान जारी


१५ पुस, सिन्धुली। सिन्धुलीमा एक जना युवकको गोली लागेर मृत्यु भएको छ। सुनकोसी गाउँपालिका-५ बन्दिपुरका भिमबहादुर तामाङका २२ वर्षीय छोरा आशमान तामाङको गोली लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आशमान तामाङ सोमबार आफ्नो घरदेखि करिब ३ किलोमिटर दक्षिणतर्फ पर्ने घ्याङलेख गाउँपालिका-१ स्थित पिउरी खोलाको जंगलमा मृत अवस्थामा फेला परेका थिए। उनी नाइटोको भागबाट रगत बगेको अवस्थामा उत्तानो परेर ढलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको पेटको भागमा गोली लागेको देखिएको छ। घटनास्थलमा मृतकको शव नजिकै एक थान भरुवा बन्दुक बीच भागमा भाँचिएको अवस्थामा फेला परेको र बन्दुक मृतकले भिरेको अवस्थामा रहेको प्रहरीको भनाइ छ।

त्यसैगरी मृतकले बोकेको झोलाभित्र निलो रङको बिर्को भएको बट्टामा बारुद जस्तो देखिने कालो धुलो तथा रातो बिर्को भएको बट्टाभित्र फलाम र सिसाका टुक्रा फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा लास जाँच मुचुल्का सम्पन्न गरी मृतक तामाङको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख सुवेदीले जानकारी दिए।

प्रारम्भिक रूपमा हेर्दा मृतकले आफैँ बन्दुक चलाउने क्रममा दुर्घटनावश गोली लागेको वा अन्य कसैले कर्तव्य गरी हत्या गरेको हुन सक्ने आशंका गरिएको छ। घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान तीव्र पारेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको