१५ पुस, रौतहट। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा एलपी ग्यास बुलेट दुर्घटनामा परेपछि सो क्षेत्रमा सवारी साधनको आवागमन पूर्णरूपमा रोकिएको छ।
मंगलबार बिहान ७ बजेर ५० मिनेटको समयमा पूर्वतर्फबाट आउँदै गरेको यूपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट अनियन्त्रित भई सडकमै तर्सो परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुर्घटनामा बुलेटका चालक सामान्य घाइते भएका छन्।
दुर्घटनापछि ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन तत्कालका लागि बन्द गरिएको प्रहरीले जानकारी दिएको छ। सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
ग्यास लिकका कारण आगलागी हुन सक्ने जोखिम रहेकाले दमकल र बुलेट हटाउन क्रेन मगाइएको प्रहरीले जनाएको छ। दुर्घटना जंगल क्षेत्रमा भएको हुँदा नजिक कुनै बस्ती नभएकोले ठूलो मानवीय क्षति भने हुन नपाएको बताइएको छ।
स्थिति पूर्ण रूपमा सुरक्षित भएपछि मात्र सडक सञ्चालन गरिने प्रहरीले जनाएको छ।









