मधेशमा शितलहरको मारमा दलित समुदाय, आयोगले अभिभावकीय भूमिका खेल्नुपर्छ : उपराष्ट्रपति यादव


१४ पुस, काठमाडौं। उपराष्ट्रपति रामसहाय यादवले मधेशमा हालको शितलहरका कारण दलित समुदाय अत्यधिक पीडामा परेको बताएका छन्।

राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राकृतिक विपद्‌का समयमा दलित समुदाय सबैभन्दा बढी जोखिममा पर्ने गरेको उल्लेख गरे। यस्तो अवस्थामा आयोगले अभिभावकको भूमिकामा सक्रिय रूपमा प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए।

उनका अनुसार आयोगले आफैं सहयोग गर्न सक्ने अवस्थामा प्रत्यक्ष सहयोग गर्नुपर्छ भने नसक्ने अवस्थामा तत्काल राज्यको ध्यानाकर्षण गराउनुपर्छ। सरकारको पहुँच नपुगेका क्षेत्रहरूमा आयोगले छिटो पहल गरी समस्या समाधानका लागि सरकारलाई घच्घच्याउनुपर्ने उनले बताए।

उपराष्ट्रपति यादवले तराई–मधेशका दलित समुदाय अझै शिक्षा, स्वास्थ्य र राजनीतिक पहुँचको रेखाभन्दा बाहिर रहेको उल्लेख गरे। उनीहरूलाई मूलधारमा ल्याउन आयोगले थप सक्रियता देखाउनुपर्ने उनको भनाइ थियो।

स्वास्थ्य बीमा लगायतका सरकारी कार्यक्रममा आर्थिक अभाव र जनचेतनाको कमीका कारण धेरैजसो दलित समुदाय लाभान्वित हुन नसकेको पनि उनले बताए। यसका लागि आयोगले संस्थागत रूपमा जागरुकता अभियान अघि बढाउनुपर्नेमा उनले जोड दिए।

उनले दलित लक्षित सिपमूलक तथा रोजगारीमूलक कार्यक्रमहरू विपन्न क्षेत्र र बस्तीहरूमा सञ्चालन गर्न आयोगलाई सुझाव दिए।

कार्यक्रममा उनले समाजमा अझै पनि कुरीति, विसंगति र भेदभावका अवशेषहरू विद्यमान रहेको उल्लेख गर्दै ती हटाउनु ठूलो चुनौती भएको बताए। दलित समुदायभित्रै पनि विभेद र छुवाछुतका समस्या रहेको भन्दै त्यसको अन्त्यका लागि आयोगले अग्रसरता देखाउनुपर्नेमा उनले जोड दिए।

उपराष्ट्रपति यादवले आयोगले तयार पारेको रणनीतिक योजना (२०८२/८७) तथा उजुरी व्यवस्थापन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत आग्रह गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको