१३ पुस, सिरहा। सिरहाको सुखीपुर नगरपालिका-६ स्थित खरही टोलमा प्रेम विवाह गरेको निहुँमा दुई पक्षबीच कुटाकुट भएको छ। घटना भएको २४ घण्टा बितिसक्दा पनि प्रहरीले प्रभावकारी छानबिन नगरेको भन्दै पीडित पक्षले आक्रोश व्यक्त गरेका छन्।
कुटपिटमा परी प्रेम विवाह गरेका राजकिशोर यादवका काका देवप्रसाद यादव गम्भीर घाइते भएका छन्। उनको उपचार विराटनगरस्थित गोल्डेन अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ। यस्तै, राजकिशोरका बुबा शिवकुमार यादव पनि घाइते भएका छन्।
राजकिशोर यादवले दुई वर्षअघि गाउँकै रामकरण यादवकी छोरीसँग प्रेम विवाह गरेका थिए। विवाहपछि उनीहरू हालसम्म गाउँ फर्किन नसकेको पीडित पक्षको भनाइ छ। छोराले प्रेम विवाह गरेको निहुँमा शनिबार दिनको करिब १०-११ बजेको समयमा धारिलो हतियारसहितको समूहले घरमै आएर कुटपिट गरेको आरोप लगाइएको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्र घटना बाहिरिएको हो। एक स्थानीयका अनुसार प्रेम विवाह गरेको केटा पक्ष आर्थिक रूपमा कमजोर र केटी पक्ष सम्पन्न भएकाले सुरुदेखि नै विवाद रहँदै आएको थियो। डरका कारण दम्पती अहिलेसम्म गाउँ फर्किन नसकेको र उनीहरूको एक सन्तानसमेत रहेको स्थानीयले जानकारी दिए। घटनापछि घरमा रहेका अन्य सदस्यहरू पनि त्रासमा रहेको उनको भनाइ छ।
प्रहरी प्रशासनले ढिलाइ गर्दा पीडित पक्ष झनै असुरक्षित महसुस गरिरहेको स्थानीयको आरोप छ। राजनीतिक दबाबका कारण अनुसन्धानमा ढिलाइ भइरहेको पीडित पक्षको दाबी छ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालले घटनाबारे छानबिन भइरहेको बताए। दुवै पक्षका केही व्यक्ति घाइते भएको जानकारी दिँदै आरोपित रामकरण यादव फरार रहेकाले खोजी कार्य जारी रहेको उनले बताए।
पीडित पक्ष त्रसित अवस्थामा रहे पनि गाउँमा प्रहरी नपुगेको भन्ने प्रश्नमा डीएसपी पालले आवश्यकताअनुसार प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिएका छन्।









