दुधुवा नेसनल पार्कमा बाघको आक्रमणबाट कञ्चनपुरकी वृद्धाको मृत्यु


१३ पुस, महेन्द्रनगर। कञ्चनपुरको पुर्नवास नगरपालिका-६ की एक वृद्धाको भारतस्थित दुधुवा नेसनल पार्कमा बाघको आक्रमणमा परी मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र कार्कीका अनुसार शनिबार घाँस काट्न जंगल गएकी पुर्नवास नगरपालिका-६ निवासी ७० वर्षीया सुना निरौलाको बाघको आक्रमणमा ज्यान गएको खबर प्राप्त भएको हो।

“सीमाक्षेत्रबाट करिब अढाई किलोमिटरभित्र बाघले वृद्धाको ज्यान लिएको जानकारी आएको छ,” प्रहरी निरीक्षक कार्कीले भने, “दाउरा र घाँसका लागि हिजो जंगल गएको भन्ने स्थानीयले जानकारी गराएका छन्।”

घटनास्थल भारतीय क्षेत्रमा परेकाले आवश्यक कानुनी प्रक्रिया पनि भारतीय पक्षबाटै हुने प्रहरीले जनाएको छ। “आवश्यक परेमा भारतीय पक्षले हामीसँग समन्वय गर्नेछ,” प्रहरी निरीक्षक कार्कीले भने, “तर हालसम्म भारतीय पक्षबाट औपचारिक जानकारी आएको छैन।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको