शीतलहरले कठ्यांग्रिँदै दलित बस्ती : पराल र घुरकै भरमा मधेशका विपन्न परिवार


९ पुस, जनकपुरधाम। अत्यधिक जाडोका कारण धनुषाको हंसपुर नगरपालिका-२ बघचौडाका ६२ वर्षीय बौएलाल सदा रातभर निदाउन सक्दैनन्। पातलो चादर ओढेर परालमा सुत्ने सदालाई त्यसैले जाडो छल्न मुस्किल पर्छ। चिसोले निद्रा नपरेपछि उनी राति नै घुर बालेर ताप्छन्।

‘हामी गरिब मान्छे हौं। भरपेट खानै मुस्किल छ, ओढ्ने-ओछ्याउने कहाँबाट ल्याउनु ?’ मंगलबार मध्याह्न आँगनमा बसेर धान छान्दै गरेका उनले दुखेसो पोखे, ‘तल पराल ओछ्याउँछु, माथि पातलो चादर ओढ्छु। यसले जाडो थेग्दैन। धेरै जाडो लागेपछि घुर तापेर जिउ तताउँछु र फेरि सुत्ने प्रयास गर्छु।’

सदाकी श्रीमती सनेचरी देवी पनि ओढ्ने-ओछ्याउनेको अभावमा जाडोले कठ्यांग्रिएकी छन्। ऐलानी जग्गामा बनेको खर–परालको छानो भएको १५ वर्ष पुरानो घर जीर्ण अवस्थामा छ। त्यही घरमा सदा दम्पतीको गुजारा चलिरहेको छ।

खेतमा झरेका धानका बाला बढारेर कुटेको चामल खाएर दुवैको बिहान-साँझ टर्छ। उनीहरूका लागि एउटा न्यानो कम्बल किन्नसमेत पैसा छैन।

त्यही बस्तीका केही मुसहर परिवारका घर जनता आवास कार्यक्रमअन्तर्गत मधेश सरकारले बनाइदिए पनि सदा दम्पती जाडो छल्न अझै घुर र परालकै भरमा छन्।

उनका कान्छा छोरा रामशरणको परिवारका छ जना सदस्य पनि अर्को फुसकै घरमा पराल र एउटा कम्बलको सहारामा रात काटिरहेका छन्। स्थानीय र प्रदेश सरकारले आफूहरूबारे कहिल्यै नसोचेको भन्दै सदा कठ्यांग्रिएर रात काट्न बाध्य भएको गुनासो गर्छन्।

छिमेकी ६५ वर्षीया केसोदेवी सदा पनि दिउँसो करिब १२ बजेतिर अँगेनामा घुर ताप्दै थिइन्। चादर ओढेर घुर नजिक बसेकी केसोदेवीसहित सात जनाको परिवार पराल र एउटै कम्बलको भरमा गुजारा चलाइरहेको छ।

‘जाडो धेरै छ। पराल र एउटा कम्बलमै सात जना सुत्छौँ। धेरै जाडो भए परालै ओढ्छौं, नभए घुर तापेर जाडो भगाउँछौं,’ उनले भनिन्।

छिमेकी राजकिशोर सदाको अवस्था पनि उस्तै छ। टाउकोमाथि ओतका लागि च्यातिएको प्लास्टिक मात्र छ। तीनतिर च्यातिएका कपडाले घेरिएको ठाउँमा पराल ओछ्याएर पातलो कम्बल ओढी उनी सुत्छन्।

‘यहाँ बुबा सुत्नुहुन्छ, घरभित्र भतिज र बुहारी सुत्छन्। अर्को ठाउँमा म र आमा सुत्छौँ। अरू कुनै उपाय छैन,’ उनकी छोरी भुली सदाले सुनाइन्।

जाडोमा स्थानीय ६५ वर्षीया दुःखनी सदाको पनि दिन–रात उस्तै छ। आफन्तले दिएको एउटै कम्बल परिवारको जाडो छल्ने सहारा बनेको छ।

‘कुटुम्बले कम्बल नदिएको भए झन् गाह्रो हुन्थ्यो। पराल र यही कम्बल जाडो काट्ने आधार हो,’ उनले भनिन्, ‘ओढ्ने-ओछ्याउने यही पातलो चादर हो। धेरै जाडो भयो भने घुर ताप्छु।’

बौएलाल, केसोदेवी र दुःखनी सदा मात्र होइनन्, आवश्यकताअनुसार ओढ्ने-ओछ्याउने तथा न्यानो कपडाको अभाव सिंगो बस्तीमा छ। वृद्धदेखि बालबालिकासम्म जाडोमा कठ्यांग्रिन थालेका छन्। कतिपय बालबालिकाका खुट्टामा चप्पलसमेत छैन।

यी बस्ती उदाहरण मात्र हुन्। तीन दिनदेखि मधेशमा अत्यधिक चिसो बढ्दै गएको छ। बिहान शीतलहर चल्ने गरेको छ। मधेशका प्रायः सबै स्थानीय तहमा यस्तै दलित तथा विपन्न बस्ती छन्। जाडो बढ्दै जाँदा जनजीवन कष्टकर बनेको छ तर उनीहरूलाई लक्षित गरी स्थानीय र प्रदेश सरकारले खासै तयारी गरेको देखिँदैन।

तराई-मधेशमा शीतलहर बढेपछि कैयौँ स्थानीय तहले विद्यालयमा जाडो बिदा दिएका छन्।

हंसपुर नगरपालिकाका मेयर प्रदीप यादवले भने आफ्नो पालिकाका दलित बस्तीमा ओढ्ने-ओछ्याउनेको अभाव नरहेको दाबी गरे। उनका अनुसार केही घरपरिवारमा मात्र समस्या देखिएको छ।

‘जाडोमा ओढ्ने र न्यानो कपडाको थोरैलाई मात्र अभाव छ। जाडो छल्न दाउरा वितरणको तयारी गर्दैछौँ। कम्बल खरिदबारे अब बस्ने बैठकले निर्णय गर्छ,’ उनले भने।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको