दुधौली नगर अस्पतालमा अख्तियारको छापा, अनियमितताको आशंकामा अनुसन्धान


सिन्धुली। दुधौली नगर अस्पताल सिर्थौलीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले छापा मारेको खुलासा भएको छ। दुधौली नगरपालिकाको कार्यालयमा छापा परेको सोही दिन नगर अस्पतालमा पनि अख्तियारको टोली पुगेको भए पनि अस्पताल व्यवस्थापन समिति र कर्मचारीहरूले यो विषय गुपचुप राख्दै आएका छन्।

अस्पताल स्रोतका अनुसार औषधि खरिद प्रक्रियामा अनियमितता, मेडिकल सुपरिटेन्डेन्टको तलब तथा सेवा-सुविधा, आवश्यक मेसिन तथा उपकरण खरिदसम्बन्धी विषयमा उजुरी परेपछि अख्तियारको टोली अस्पताल पुगेको हो। तर छापा परेको लामो समय बितिसक्दासमेत नगर अस्पतालले यसबारे कुनै औपचारिक जानकारी सार्वजनिक नगरेको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेका छन्।

अख्तियारमा परेको उजुरीमा नगर अस्पतालभित्र नीतिगत तथा आर्थिक अनियमितता भएको दाबी गरिएको छ। उजुरीअनुसार छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले नेपाल सरकारले तोकेको तलब-भत्तामै दुई वर्ष सेवा गर्नुपर्ने स्पष्ट सम्झौता हुँदाहुँदै मासिक ४ लाख २७ हजार रुपैयाँ तलब दिइएको उल्लेख छ। साथै भिडियो एक्स-रे सेवामा ७० प्रतिशत शुल्क लिइएको र अत्यावश्यक नहुँदा पनि मनोचिकित्सा सेवामा चिकित्सकलाई ७५ प्रतिशत प्रोत्साहन भत्ता दिइएको आरोप लगाइएको छ।

त्यसैगरी अहेव तथा अ.न.मी. पदका लागि विज्ञापन गर्दा मासिक १८ हजार रुपैयाँ तलब तोकिए पनि पछि नेपाल सरकारले तोकेको तलब-भत्ता दिइएको, समिति निर्णयअनुसार अस्पतालको आम्दानी तीन दिनभित्र बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था कार्यान्वयन नभएको तथा रकम अपचलन भएको आशंका गरिएको उजुरीमा उल्लेख छ।

नीति, विधि र प्रक्रिया विपरीत पहुँचका आधारमा कर्मचारी नियुक्त गरी तलब-भत्ता दोहन गरिएको दाबी गर्दै उजुरीकर्ताले नियुक्तिको आधार खोजी गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्। उजुरीमा उल्लेखित बुँदाहरू सम्बोधन भए चिकित्सकहरूले पनि नेपाल सरकारले तोकेकोभन्दा बढी तलब–भत्ता नखोज्ने दाबी गरिएको छ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको बताइए पनि नगर अस्पताल प्रशासन र दुधौली नगरपालिकाले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। छापा जस्तो गम्भीर विषयलाई किन गोप्य राखियो भन्ने प्रश्नले दुधौली नगर अस्पतालको पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको