मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित


६ पुस, जनकपुरधाम। मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज सम्पन्न मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजनमार्फत सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादव ७२ मतसहित सभामुखमा निर्वाचित भएका हुन्। विपक्षमा २४ मत परेको थियो। बैठकमा कुल ९६ जना प्रदेश सांसद उपस्थित थिए।

सभामुखको आसनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी हुन्। रामअशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले पेश गरेका थिए।

सुरुमै सभामुख चयनसम्बन्धी प्रस्ताव बहुमतले पारित भएसँगै सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि बढाइएन।

नव निर्वाचित सभामुख रामअशिष यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन्। उनी यसअघि जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै गत मंसिर ३ गते दुई तिहाई बहुमतका आधारमा पदमुक्त गरेपछि सभामुख पद रिक्त रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको