६ पुस, बर्दिबास, महोत्तरी। मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा सम्पन्न एक गोष्ठीले मधेश प्रदेशका स्थानीय तथा प्रदेशस्तरीय सञ्चारमाध्यमहरू गम्भीर संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको निष्कर्ष निकालेको छ। गोष्ठीमा सञ्चारमाध्यमहरूको संस्थागत कमजोरी, आर्थिक अस्थिरता र पेशागत चुनौतीहरूबारे गहिरो बहस गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले सञ्चारमाध्यमहरू आर्थिक रूपमा कमजोर हुँदा पत्रकारहरूको पेशागत स्वतन्त्रता, सुरक्षा र सामग्रीको गुणस्तरमा प्रत्यक्ष असर परेको उल्लेख गरे। सञ्चार संस्था सबल नभएसम्म पत्रकार पनि सबल हुन नसक्ने साझा धारणा व्यक्त गर्दै मिडिया सञ्चालनलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउन राज्यको नीतिगत सहयोग अपरिहार्य रहेकोमा जोड दिइयो ।
गोष्ठीमा महोत्तरी जिल्लाका सञ्चारमाध्यमहरूको अवस्थाबारे पत्रकार राकेश चौधरीले प्रस्तुत गरेको कार्यपत्रमा सीमित स्रोत, न्यून विज्ञापन तथा दक्ष जनशक्तिको अभावका कारण स्थानीय सञ्चार गृहहरू दीर्घकालीन सञ्चालनमा कठिनाइ भोगिरहेको उल्लेख गरिएको थियो । स्थानीय सरकार र निजी क्षेत्रसँग सहकार्य कमजोर हुँदा सञ्चारमाध्यमहरू निरन्तर दबाबमा परेको उहाँको भनाइ थियो ।
यस्तै, धनुषा जिल्लाका सञ्चारमाध्यमहरूको अवस्थाबारे पत्रकार नागेन्द्र नागवंशीले प्रस्तुत गरेको कार्यपत्रमा सञ्चारमाध्यमहरूको संख्या बढे पनि संस्थागत सुशासन, सम्पादकीय स्वतन्त्रता र व्यावसायिक मर्यादामा चुनौती कायमै रहेको उल्लेख गरिएको थियो। डिजिटल मिडियाको तीव्र विस्तारसँगै विश्वसनीयता र उत्तरदायित्व झनै महत्वपूर्ण बन्दै गएको उहाँले बताउनुभयो।
कार्यक्रममा बोल्दै मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष सुरेश यादवले सञ्चार क्षेत्रलाई सुदृढ बनाउन स्पष्ट नीति, कानुनी संरक्षण र प्रभावकारी अनुगमन आवश्यक रहेको बताए। उहाँले सञ्चार गृहहरूको दर्ता, वर्गीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई काउन्सिलले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय शारदा थापाले लोकतन्त्र सुदृढ बनाउन स्वतन्त्र, सक्षम र उत्तरदायी सञ्चारमाध्यम अनिवार्य रहेको उल्लेख गर्दै प्रदेश सरकारले सञ्चार क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने धारणा राख्नुभयो।
गोष्ठीमा मिडिया काउन्सिल बोर्ड सदस्यहरू रिंकु मिश्रा (गायत्री), बन्धना झा, मनु पासवान, प्रशासकीय अधिकृत ओम विक्रम कटुवाल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति), महोत्तरी शाखाका अध्यक्ष महेश दास, धनुषा शाखाका अध्यक्ष पुरन गुप्तालगायतले आ-आफ्ना अनुभव र सुझाव प्रस्तुत गरेका थिए।
महोत्तरी र धनुषा जिल्लाका विभिन्न सञ्चारमाध्यमका सञ्चालक, प्रकाशक तथा कार्यरत सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न गोष्ठीले मधेश प्रदेशको सञ्चार क्षेत्र सुधारका लागि साझा निष्कर्ष र भावी दिशाबारे महत्वपूर्ण बहस अघि बढाएको सहभागीहरूको भनाइ थियो।












