विराटनगर। मोरङबाट प्रहरीले आइतबार दिउँसो ठूलो परिमाणको गाँजा बरामद गरेको छ। रतुवामाई नगरपालिका-१ हटिया डाँडाबाट ६ सय ७८ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो।
हटिया डाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३८२५ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले चेकजाँचका क्रममा रोकिएको थियो। ट्रकको विस्तृत जाँच गर्दा ‘फल्स डाला’ बनाएर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
घटनास्थलमै ट्रक चालक धनकुटा, सहिदभूमि गाउँपालिका-२ का समेल राई र ट्रक धनी सहिदभूमि-१ का विक्रम विशुङ्खेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद गरिएको गाँजा र ट्रकसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ।









