वर्दिवास। “निर्णायक राष्ट्रिय शक्ति हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य” भन्ने मूल नाराका साथ नेकपा एमाले वर्दिवास नगर समितिले आज वर्दिवासमा प्रतिगामी शक्तिहरूको षड्यन्त्रका विरुद्ध जनप्रदर्शन आयोजना गरेको छ।
एमालेको पूर्वघोषित देशव्यापी कार्यक्रमअन्तर्गत वर्दिवासमा आयोजित जनप्रदर्शनमा वर्दिवास नगरका विभिन्न टोल तथा वडाबाट नेता–कार्यकर्ता तथा भातृ संगठन अनेरास्ववियु, अनेम संघ, युवा संघ, किसान संघलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका अध्यक्ष तथा नगर कमिटीका प्रमुख काहारमान स्याङवाले हाल देशभर राजनीतिक दलहरूमाथि विभिन्न किसिमका नकारात्मक भ्रम फैलाउने प्रयास भइरहेको भन्दै, त्यस्ता भ्रामक गतिविधिलाई चिर्न जनप्रदर्शन आवश्यक भएको बताए। उनले यसअघि वडा–वडा स्तरमा सङ्गठन विस्तार र घरदैलो कार्यक्रम सम्पन्न भइसकेको उल्लेख गर्दै कार्तिक २९ गते जिल्लास्तरीय जनप्रदर्शन आयोजना गर्न लागिएको जानकारी दिए।
मधेश प्रदेशकी सांसद माननीय शारदा देवी थापाले देशको सार्वभौमिकता, अखण्डता र जनतालाई संकटमा नराख्ने पार्टी एमाले नै भएको दाबी गर्दै, “विपरीत परिस्थितिमा पनि मैदान नछाड्ने हाम्रो प्रतिवद्धता जनताप्रति छ,” भनिन्।
पार्टीका अनुसार जिल्लास्तरीय जनप्रदर्शन पर्सि शनिबार जलेश्वरबाट सुरु भई वर्दिवास चौकमा कोणसभासहित सम्पन्न हुनेछ। हाल अन्य राजनीतिक दलहरूको गतिविधि सुस्ताइएको समयमा एमालेले सञ्चालन गरेको यो जनसंगठन अभियानप्रति जनस्तरमा उत्साह देखिएको छ।




















