१६ जेठ, काठमाडौं – जिल्ला अदालतले आलमलाई जन्मकैदको फैसला गर्दा देखेका र उच्चले ‘अनदेखा’ गरेका आधार
जिउँदै मान्छे इँटाभट्टामा हालेर हत्या गरेको जघन्य अपराधमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैद फैसला गरेको १३ महिनापछि उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएपछि पीडित मात्रै होइन, दुनियाँ झस्किएको छ । जिल्लाले घटनाका जे–जे प्रमाणलाई आधार मानेर आलमसहित महताब आलम ९भाइ०, शेष सेराज र बद्री सहनीलाई जन्मकैद सुनायो, ती प्रमाणलाई ‘अनदेखा’ गरेर उच्चले चारैजनालाई सफाइ दिने फैसला गरेको देखिन्छ ।
घटनाका प्रत्यक्षदर्शी र बम विस्फोटमा घाइते भएर पनि भाग्यले जोगिएकाहरूले प्रहरीलाई दिएको बयान, घाइतेको घाउ जाँचपछि आएको फरेन्सिक रिपोर्ट, घाइतेलाई इँटाभट्टामा र्पुयाउन प्रयोग भएको ट्रयाक्टरको पहिचान, प्रहरी इन्स्पेक्टरले नै बम विस्फोटपछि धुवाँको मुस्लो देखेकोजस्ता यथेष्ट प्रमाणलाई आधार मानेर जिल्ला अदालतले आलमसहित चारैजनालाई दोषी ठर्हयाएको थियो । तर, उच्चले यस्ता आधारलाई प्रमाण मान्न इन्कार गर्दै जिल्लाको फैसला उल्ट्याइदियो । घटनामा प्रत्यक्ष प्रमाणहरू नष्ट गरिसकेको अवस्थामा अप्रत्यक्ष प्रमाणलाई आधार मानेर पीडितलाई न्याय दिलाउनु न्यायालयको कर्तव्य रहन्छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी अदालतले कुनै पनि घटनाका अप्रत्यक्ष प्रमाणलाई मान्दिनँ भनेर न्यायनिरुपण गर्न नमिल्ने बताउँछन् । आलम अभियुक्त रहेको मुद्दामा प्रत्यक्षभन्दा पनि अप्रत्येक्ष प्रमाणहरू धेरै भएजस्तो देखिएकाले यसप्रति अदालतले ध्यान नदिएको हुन सक्ने उनको आशंका छ । ‘फौजदारी मुद्दामा दुईथरी प्रमाण हुन्छन् । एउटा प्रत्यक्ष प्रमाण, अर्को अप्रत्यक्ष प्रमाण । अप्रत्यक्ष प्रमाण भनेको सर्कम्स्टेन्सियल एभिडेन्स हो । अदालतले मलाई प्रत्यक्ष प्रमाण चाहिन्छ, म अप्रत्यक्ष प्रमाण मान्दिनँ भन्न मिल्दैन । मिडियाबाट थाहा पाएअनुसार यो मुद्दामा प्रत्यक्षभन्दा अप्रत्यक्ष प्रमाण भएजस्तो देखिन्छ,’ उनले भने, ‘त्यसो त सुरुमा प्रहरीले अनुसन्धानमै आनाकानी र्गयो । पीडित पक्ष सर्वोच्च पुगेपछि सर्वोच्चकै फैसलापछि अनुसन्धान सुरु भएको देखिन्छ । अनुसन्धान नै ढिला भएको अवस्थामा प्रमाण लोप भएको हुन सक्छ भने प्रहरीले प्रत्यक्ष प्रमाणको खोजी गरेर अप्रत्यक्ष प्रमाणतर्फ ध्यान नदिएको हुन सक्छ ।’
जिल्ला र उच्च अदालतको फैसला बाझिएपछि अब सरकारी वकिलले यो मुद्दामा वकिलहरूको टिम नै गठन गरेर सर्वोच्चमा पुनरावेदन गर्नुपर्ने उनको सुझाव छ । ‘यो मानवताविरुद्धको अपराध हो । हाम्रो कानुनले जिल्ला र उच्च अदालतको फैसला बाझिएपछि पुनरावेदन लाग्छ भनेको छ । त्यसकारण सरकारी वकिलले यसमा वकिलहरूको टिम नै गठन गर्नु आवश्यक छ । यसलाई सर्वोच्चमा पुनरावेदन गर्नुपर्छ । बल्ल पीडितको चित्त बुझ्छ,’ उनले भने ।
२८ चैत ०६४ को संविधानसभा निर्वाचनमा रौतहट– २ बाट कांग्रेस उम्मेदवार बनेका आलमले चुनाव जित्नका लागि विस्फोट गराउने, जनता तर्साउने र बुथ कब्जा गर्ने उद्देश्यले अघिल्लो दिन २७ चैतको साँझ निहत्था युवालाई बम बनाउन प्रयोग गरेका थिए । राजपुर नगरपालिका– २ ९साबिक फरहदवा गाउँ० स्थित शेख इन्द्रिस ९आलमका काका०को गोठमा बम बनाउँदै गर्दा विस्फोट भएर भारतीयसहित कैयौँ युवाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । घटना गुपचुप पार्न आलमकै व्यवस्थापनमा घाइतेहरूलाई समेत बेहोस हुने सुई लगाएर बोरामा प्याक गरी ट्रयाक्टरमा लोड गरेर आलमकै दाइ मुस्ताफको इँटाभट्टामा र्पुयाई जिउँदै जलाएर मारिएको थियो । दुई नेपाली युवा रौतहटकै यमुनामाई, सरुहट्ठाका २२ वर्षीय त्रिलोकप्रताप सिंह ९पिन्टु० र ओसी अख्तरलाई पनि घाइते अवस्थामै इँटाभट्टामा जलाएर हत्या गरिएको थियो ।
यो मुद्दामा जिल्ला अदालत रौतहटले १३ वैशाख ०८१ मा आलमसहित चार अभियुक्तलाई जन्मकैद हुने फैसला गरेको थियो । तर, उक्त फैसलाले आफूमाथि अन्याय भएको भन्दै आलम उच्च अदालत पुगेका थिए । ०५१, ०५६, ०६४ र ०७४ मा प्रतिनिधिसभा सांसद भएर पटक–पटक मन्त्रीसमेत बनेका कांग्रेसका प्रभावशाली नेता आलमको मुद्दा उच्चका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले बुधबार जिल्लाको फैसला उल्ट्याइदियो । आलमको पक्षमा फैसला गर्ने खुसीप्रसाद थारू कांग्रेसकै कोटामा न्यायाधीश बनेका हुन् ।
न्यायपरिषद्को २८ पुस ०७३ मा बसेको बैठकले थारूसहित ८० जनालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीश सुशीला कार्की थिइन् । त्यतिवेला अहिलेका गृहमन्त्री रमेश लेखकले ‘आफ्नो पार्टीका यति जना न्यायाधीश बनाउनैपर्छ’ भनेर आफूसँग आउँदा झगडा नै परेको प्रसंग कार्कीले सार्वजनिक रूपमै बोलेकी छिन् । थारूले विशेष अदालतको न्यायाधीश हुँदा ३ फागुन ०८० मा बालुवाटार जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेता विजय गच्छदारलाई पनि सफाइ दिएका थिए । संयुक्त इजलास भए पनि लिड थारूले नै गरेका थिए । कतिसम्म भने ‘बालुवाटार जग्गा प्रकरणको निर्णय प्रक्रियामा संलग्न गच्छदारलाई मुद्दा चलाएर कार्यपालिकाको स्वतन्त्रतामा हस्तक्षेप गरेको’ भन्ने टिप्पणी फैसलामा गरिएको थियो ।
जिल्ला अदालतले यी प्रमाणका आधारमा आलमलाई देखाएको थियो दोषी
नक्खु जेलबाट रिहा भएपछि आलम । तस्बिर स् अमुल थापारनयाँ पत्रिका
प्रमाण १ ः प्रत्यक्षदर्शी सराजुल मियाँको बयान जिप्रका रौटहट
म मोहम्मद अफताब आलमको घर पुगेँ । लाल महमदले ओसी अख्तर रहेको घर देखाए । घरको ढोका बन्द थियो । दिवालको प्वालबाट हेर्दा ओसी अख्तर र दुई कार्टुन बम र १८–२० जना नचिनेका मानिसहरू देखेँ । ओसीलाई घर जान बोलाएँ, ऊ आएन । म नजिकैको करवानीको रुखमुनि गएर बसेँ । सोहीवेला बम विस्फोट भयो । एक–दुईजनाको मृत्यु भएको र अन्य घाइते भएको देखेँ । पिन्टुलाई दुवै हात र दायाँ तिघ्रामा तथा ओसीलाई बायाँ खुट्टा र दायाँ हातमा चोट लागेको थियो । ओसी र पिन्टुसमेतलाई ट्रयाक्टरमा राखी इँट्टाभट्टातर्फ लाँदै गर्दा मानिसहरू कराएको सुनेँ । ट्रयाक्टरबाट जुटको बोरा उठाई चिम्नीमा फालेको मैले देखेको हुँ ।
प्रमाण २ ः प्रत्यक्षदर्शी मेवालाल राय यादव, शिव साह कानु, धरिछन साह तेली, रामसोगारथ यादव, रवि कुमार, उदयनारायण साह, सुनर राय र रामबहादुर साहको बयान ९जिप्रका रौटहट०
गोठघरमा जम्मा गरेको बम विस्फोट हुँदा ओसी र पिन्टु घाइते भए । शेख सेराज, अफताब, महताब, शेख भदई, मोहमद मोविन आलमसमेतले तत्कालै घाइतेहरूलाई बोरामा हाली कसी ट्रयाक्टरमा लोड गरी लगेको, हामीहरूले आफ्नै आँखाले प्रत्यक्ष देखेको हो । त्यसपछि इँटाभट्टाको चिम्नीमा लासहरू जलाई नष्ट गरेको हो, पहिला डरत्रासको कारणले भन्न नसकेको हो ।
प्रमाण ३ ः प्रत्यक्षदर्शी ओहिद मियाँ कवारीको बयान ९जिप्रका रौटहट०
ओसीलाई महताब र शेख सेराजले मोटरसाइकलमा चढाई पश्चिमतर्फ लगेको देखेको हुँ । पछि ओसी र पिन्टुको मृत्यु भएको कुरा थाहा पाएँ ।
प्रमाण ४ ः समसुल मियाँ, मोहम्मद जाजुल र अमाना खातुनको कागज ९जिप्रका रौतहट०
ओसी अख्तरलाई शेख सेराज भनिने शेष सराजले मोटरसाइकलमा चढाई शेख इन्द्रिसको घरमा बम बनाउन लगेका थिए । त्यहीवेला बम विस्फोट भयो । ओसीलगायत मानिसहरूको मृत्यु भयो । लासहरू मोहम्मद महताबसमेतले तत्कालै ट्रयाक्टरमा राखी इँटा उद्योगमा लगी जलाएका हुन् । घटना सम्बन्धमा महताबलाई सोध्दा ‘यस सम्बन्धमा तपाईंको घरमा आएपछि बताउनेछु’ भन्दै शेख सेराजले मृतक ओसीको स्वेटर, मोजा र हाइनेक गएको मानिसलाई दिई पठाएका थिए ।
प्रमाण ५ ः प्रत्यक्षदर्शी हरिनारायण साह, परीक्षण साह, शंकर साह तेली र गेनालाल साह कानुको बयान ९जिप्रका रौतहट०
शेख इद्रिसको गोठघरमा अचानक बम विस्फोट भएको ठुलो धमाका सुनी हामीहरू घटनास्थलमा जाँदा गोठघरमा बम विस्फोट भई क्षति भई १५–१६ जना मानिसहरू सख्त घाइते भएको र एक–दुईजना मानिसको मृत्यु भएको देखेको हुँ । अफताब, महताब, शेष सेराज, शेख भदई, मोबिन आलम, फजले हक, सगिर आलम र शेख जुमई भन्ने शेख मलकारसमेतले चारैतिरबाट घेरी घाइतेहरूलाई सुई लगाई हामीहरूलाई गालीगलौज गर्दै भगाइदिए तापनि हामी लुकेर हेर्दा घाइते तथा मृतकहरूलाई जुटको बोरामा राखी निजहरूले ट्रयाक्टरमा राखी इँटाभट्टातर्फ लगेका हुन् ।
प्रमाण ६ ः घाइते सफी अहमदको बयान ९जिप्रका रौतहट०
२७ चैत ०६४ मा खरिद गरेको गोरु धपाउँदै शेख इद्रिसको घरनजिकै पुगेको थिएँ । बम विस्फोट भयो । छर्रा लागेर घाइते भएँ । गम्छाले पेट बाँधी ६ सय मिटर हिँडेर पुगेपछि साहु शेख मसिरले मोटरसाइकलमा राखी उपचार गर्न भारत मोतीहारीको डा। परवेज र तवरेज आलमको क्लिनिकमा लगे । १९ दिनपछि होसमा आएँ । उक्त अस्पतालमा करिब चार महिना उपचार गरेँ ।
प्रमाण ७ ः घाइते गौरीशंकर राम चमारको बयान ९जिप्रका रौतहट०
शेख इद्रिसको गाईवस्तु बाँध्ने गोठघरअगाडि पुग्दा धेरै मानिस थिए । गोठघरभित्र १५–१६ जना मानिस बसेका थिए । गोठघरको ढोका खुला भएको कारण देखेको हुँ । अचानक बम विस्फोट भयो । बमको टुक्रा, छर्राहरूले मेरो दुवै कान, घाँटी, छातीसमेतमा गम्भीर घाउचोट लाग्यो ।
प्रमाण ८ स् घाइतेको घाउ जाँचपछि प्रहरीको फरेन्सिक ल्याबले दिएको रिपोर्ट
जाँच गरिएको शरीरको मेडिकल जाँच र तिनको अस्पताल रेकर्डको विश्लेषणका आधारमा शल्यक्रिया र छाला प्रत्यारोपण गरिएका चोटपटकको सम्भावित कारण ९विस्फोटले र्पुयाएको चोट०’ हो ।
प्रमाण ९ स् मृतक र घाइतेलाई इँटाभट्टसम्म र्पुयाउन ना।१त ६४७२ नम्बरको ट्रयाक्टर प्रयोग
विस्फोटमा मारिएका तथा घाइते भएकाहरूलाई घटनास्थलबाट इँटाभट्टासम्म बोक्न ना।१त ६४७२ नम्बरको ट्रयाक्टर प्रयोग गरिएको थियो । जुन मोहम्मद महताब आलमको नाउँमा दर्ता थियो । उक्त ट्रयाक्टर २३ असार ०६७ मा उमाशंकर साहलाई महताबले बेचेका थिए । उक्त ट्रयाक्टर पछि बरामद भएको थियो ।
प्रमाण १० स् इँटाभट्टामा मान्छे पोलेको देखेका प्रत्यक्षदर्शी राजेशप्रसाद सहनीको बयान ९जिप्रका रौतहट०
रातको करिब १२स्३० बजेदेखि १स्०० बजेको बिचको समयमा ट्रयाक्टरको आवाज र मानिसहरूको खैलाबैलाले मेरो निद्रा भंग भयो । म उठेँ, बाहिर हेरेँ, अनि नजिकै गएँ । अफताब, महताबलगायत करिब आधा दर्जन मानिस देखेँ । उनीहरू नेता भएकाले मैले चिनेँ । अरूलाई चिन्न सकिनँ । बद्री सहनी ९इँटाभट्टाको हेड मिस्त्री०समेत सोही ट्रयाक्टरमा सँगै आएका रहेछन् । ट्रयाक्टरमा जुटको बोरामा मानिस हालेर ल्याएका रहेछन् । त्यो देखेर म धेरै डराएँ । मलाई निजहरूले ठुलो स्वरमा त्यहाँबाट टाढा जान आदेश दिए । म केही पर गएँ । बोरामा ल्याएका मानिसहरू पालैपालो निकाल्दै इँटा पोल्ने भुंग्रोमा हाल्न थाले ।
प्रमाण ११ स् इँटाभट्टाका मजदुर जलिफ अन्सारीको बयान ९जिप्रका रौतहट०
बद्री सहनीको प्रायः रातको सिफ्टमा डुयुटी हुन्थ्यो । हेड मिस्त्री भएका कारण चौबिसै घण्टा स्ट्यान्डबाई हुनुपथ्र्यो । उसले बताएअनुसार साँझको करिब ६स्१५ बजेदेखि ६स्३० बजेबिचमा ठुलो धमाका साथ विस्फोट भयो । विस्फोटपछि बद्री सहनीले घाइते तथा मृत्यु भएकालाई चिम्नी भट्टामा लगी जलाउन सहयोग गर्न भनेका रहेछन् । राति करिब १२स्३० बजेदेखि १स्०० बजेको बिचमा घाइतेहरूलाई बोरामा हाली ट्रयाक्टरमा लोड गरेर इँटाभट्टामा ल्याई हाली जलाएको रहेछ । ९बद्री हाल फरार छन्० ।
प्रमाण १२ स् इँटाभट्टाका मजदुर लखिन्द्र पटेलको बयान ९जिप्रका रौतहट०
बम विस्फोट भएको गाइँगुइँ सुनेँ । २८ गते उद्योगमा पुगेर भाइ प्रभुलाई घटनाबारे सोधेँ । उसले चुप लाग भन्यो । रातिको सिफ्टमा उद्योगमा बद्री सहनी, मुक्ति साह र कृष्ण मुखिया मुखामुख गर्न थाले । भाइले एकान्तमा लगी घटनाबारे सविस्तार सुनाए । भाइले बताएअनुसार २७ गते साँझ शेख इद्रिसको गोठघरमा नेता मो। अफताब आलमलगायत मानिसहरूले चुनाव जित्नका लागि बम बनाउने क्रममा अचानक विस्फोट हुँदा ठुलो मानवीय क्षति भएको, सो घटनामा परी केही मानिसको मृत्यु भएको त केही मानिस सख्त घाइते भएको, घाइतेलाई राति नै ट्रयाक्टरमा लोड गरी मो। अफताब आलम, मो। महताब आलम, शेख भदई, मो। मोबिन आलम, शेख सेराज भन्ने शेष सेराजलगायतले इँटा पकाउने भुंग्रोमा जिउँदै पालै–पालो हालेको बताए ।
प्रमाण १३ स् विस्फोटले ध्वस्त गोठ जीर्णोद्धार गर्नेमध्ये शेख ओलजाहिरको बयान ९जिप्रका रौतहट०
विस्फोटको पाँच–सात दिनपछि अफताब मेरो घरमा आई बमले क्षति भएको शेख इद्रिसको गोठ पुनर्निर्माण गर्न भने । मैले मानिनँ । मेरो घरपरिवारलाई मारिदिने धम्की दिए । मैले नचिनेका भारतीय नागरिकसमेतको सहयोगमा शेख इद्रिसको गोठघर निर्माण गरी त्यहाँ गाईवस्तुले खाने भुस राखी, अन्य पुराना घरहरूबाट माकुराको जालो ल्याई छानोमा जालो लगाई घटनास्थल परिवर्तन गरेका हौँ ।
प्रमाण १४ स् इन्सेक, नेपाल बार एसोसिएसन र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन ९घटनाको तीन सातापछि स्थलगत अध्ययन०
घटनास्थलमा पुग्दा शेख इद्रिसको खलिहान घरको छाना स्पष्ट रूपमा नयाँ खपडाले छाएको, बाँसको नयाँ भाटा प्रयोग भएको, घरको भित्ता चर्केको तथा नयाँ पर्खाल लगाएको, घरमा नयाँ भुस राखिएको, उक्त भुस निकाली हेर्न भन्दा अधिकारकर्मी दीपेन्द्र झा र पीडित पक्षलाई स्थानीय बासिन्दाले आक्रमणको प्रयास गरे ।
प्रमाण १५ स् इप्रका राजपुरका तत्कालीन इन्स्पेक्टर इन्द्र सुवेदीको बयान ९जिप्रका रौतहट०
बेलुकी अन्दाजी ६स्३० बजेको समयमा इलाका प्रहरी कार्यालय, राजपुरबाट ड्युटी निस्कने तयारी गर्दै गर्दा पश्चिम दिशातर्फबाट ठुलो धमकासहित विस्फोटको आवाज आयो । त्यसतर्फ हेर्दा कालो धुवाँको मुस्लो आएको देखेँ । सो स्थल इलाका प्रहरी कार्यालय, राजपुरबाट १ देखि १।५ किलोमिटरको दूरीमा थियो ।
सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसी भन्छन्– अदालतले अप्रत्यक्ष र परिस्थितिजन्य प्रमाण मान्दिनँ भन्न मिल्दैन
फौजदारी मुद्दामा दुईथरी प्रमाण हुन्छन् । एउटा प्रत्यक्ष प्रमाण, अर्को अप्रत्यक्ष प्रमाण । अप्रत्यक्ष प्रमाण भनेको सर्कम्स्टेन्सियल एभिडेन्स हो । अदालतले मलाई प्रत्यक्ष प्रमाण चाहिन्छ, म अप्रत्यक्ष प्रमाण मान्दिनँ भन्न मिल्दैन । मिडियाबाट थाहा पाएअनुसार यो मुद्दामा प्रत्यक्षभन्दा अप्रत्यक्ष प्रमाण भएजस्तो देखिन्छ । त्यसो त सुरुमा प्रहरीले अनुसन्धानमै आनाकानी र्गयो । पीडित पक्ष सर्वोच्च पुगेपछि सर्वोच्चकै फैसलापछि अनुसन्धान सुरु भएको देखिन्छ । अनुसन्धान नै ढिला भएको अवस्थामा प्रमाण लोप भएको हुन सक्छ भने प्रहरीले प्रत्यक्ष प्रमाणको खोजी गरेर अप्रत्यक्ष प्रमाणतर्फ ध्यान नदिएको हुन सक्छ । यो मानवताविरुद्धको अपराध हो । हाम्रो कानुनले जिल्ला र उच्च अदालतको फैसला बाझिएपछि पुनरावेदन लाग्छ भनेको छ । त्यसकारण सरकारी वकिलले यसमा वकिलहरूको टिम नै गठन गर्नु आवश्यक छ । यसलाई सर्वोच्चमा पुनरावेदन गर्नुपर्छ । बल्ल पीडितको चित्त बुझ्छ ।nayapatrikadaily



















