काठमाडौं, जेठ ७। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संयुक्त बैठक जेठ ९ गते बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो ।
उनले भने, ‘समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरी धारणा बनाउन संयुक्त बैठक बोलाइएको छ ।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाउन कांग्रेसभित्र माग भइरहेको थियो। केन्द्रीय सदस्य नैनसिंह महरलगायतले पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाउन माग गरेका थिए।
कांग्रेसले सदनमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय समिति गठन गर्न माग गर्दै आएको हो।
सहकारीको विषयमा सरकार गम्भीर नभएको भन्दै सडक र सदनबाट आवाज उठाउन कांग्रेसभित्र पनि माग छ । नेविसंघ, तरुण दल, नेपाल महिला संघले सडकमा प्रदर्शन गरेका थिए।
सत्तारुढ गठबन्धनका नेताहरु संसदीय समिति गठनमा सहमत भए पनि कार्यक्षेत्रमा कांग्रेससँग सहमति जुट्न सकेको छैन ।
महासमिति बैठकपछि कांग्रेसले केन्द्रीय समिति बैठक राखेको थिएन। कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमितिको बैठक गरेको थियो । महासमितिले पारित गरेको प्रस्तावलाई केन्द्रीय समितिले सुझावसहित अनुमोदन गर्ने बताइएको थियो।









