
ज्ञानेश्वर सहानी / नवलपरासी/ २५ साउन ।
महेशपुर भन्सार मूल भन्सार बनेको ३ वर्ष बितिसक्दा पनि
अपेक्षित गति लिन सकेको छैन । भन्सारको भौतिक पूर्वाधार विकास र प्लान्ट क्वारेन्टिनको व्यवस्थापन नहुँदा भन्सारमा व्यापारीहरूको चाप बढ्न नसकेको हो ।
व्यापारीहरुले मालसामानको ठुला मात्रामा निकासी पैठारी गर्न खोज्दा बाटो विस्तार देखि पार्किङ जस्तो पूर्वाधारको अभावमा उक्त नाकाबाट कारोबार गर्न सकेका छैनन् । त्यस्तै भन्सारमा प्लान्ट क्वारेन्टिनको व्यवस्थापन पनि नहुँदा फलफूल र तरकारी जस्ता स–साना कारोबारहरू पनि यस नाकाबाट गर्न निकै झन्झट भइरहेको तथा जिल्लाका तीन वटै पूर्व मन्त्रीहरुहरु यस्ता स्थर उन्नतिमा ध्यान न दिएको व्यवसायीहरू गुनासो गरेका छन्।
वि.स. २०७५ साले श्रावण १ गते नेपाल सरकारले उक्त छोटी भन्सारलाई मूल भन्सारको रूपमा घोषणा गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पूर्व गृहराज मन्त्री तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलका नेता कार्यकर्ताले आफ्नो नेता कंडेलको पहलबाट भएको हो भनी प्रचार गरेका थिए ,त्यसै गरी पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य हृदेश त्रिपाठीका नेता कार्यकर्ताले पनि हृदेश त्रिपाठीको पहलबाट भएको हो भनी प्रचार गरेका थिए भने नेकपा एमालेका लुम्बिनी प्रदेश सह-इन्चार्ज तथा पूर्व लुम्बिनी प्रदेशका मन्त्री एवं प्रवक्ता बैजनाथ चौधरीका नेता कार्यकर्ताले पनि मन्त्री चौधारीको पहलबाट भएको पनि प्रचार गरेका थिए।
तर हाल यस भन्सार कार्यालयको स्तर उन्नतिका लागि कुनै पनि नेताले पहल गरेको देखिदैन त्यस कारण भन्सारमा व्यापारीहरूको चाप पनि बढ्न नसक्दा लक्ष्य अनुसारको राजस्व उठाउन भन्सारलाई मुस्किल भइरहेको छ ।
भन्सारलाई आवश्यक जग्गा अधिग्रहण, बाटोघाटाको विस्तार, गोदाम, मालवाहक गाडी पार्किङ, भवन, प्लान्ट क्वारेन्टिन चेकपोस्ट जस्ता मुख्य कार्यहरुमा सरकारले ध्यान नदिँदा भन्सारमा व्यापारीहरूको चाप र कारोबार नबढेको भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालले जानकारी दिए ।
महेशपुर भन्सारलाई मूल भन्सारको रूपमा कार्यान्वयनमा ल्याउन कर्मचारी दरबन्दी, आवश्यक जग्गा अधिग्रहण, भौतिक संरचनाहरूको निर्माण, गोदामको निर्माण, पशु तथा प्लान्ट क्वारेन्टिन चेकपोस्टको निर्माण र बाटोको उचित व्यवस्था जस्ता मुख्य कार्यहरू गर्नुपर्ने देखिन्छ । अर्थ मन्त्रालयले त्यसमा ध्यान नदिँदा व्यापारीहरू सुविधा खोज्दै जिल्लाकै मूल नाका छोडी भैरहवा भन्सार धाउने कार्यले महेशपुर भन्सार सुक्न थालेको व्यवसायी गुड्डु गुप्ताले बताए ।
यता महेशपुर नाका मूल नाका भए पनि सीमा पारीको नाका ठुठीबारी कस्टम सानो नाका रहेको र ठुठीबारी बजारको बाटो पनि साँगुरो भएकाले मालसामानको निकासी पैठारी ढिलो हुने, भन्सारमा एक्जिम कोडको नहुने र आवश्यक पूर्वाधारको विकास नभएका कारणले पनि व्यापारीहरू यस भन्सारमा आउन झन्झट मान्ने गरेको व्यापारीहरुले जानकारी दिए ।
केही व्यापारीहरुले कारोबार गरे पनि महेशपुर भन्सारको न्यूनतम सुविधा र भारतीय बाटो र कस्टमको समस्याले मालसामान झिकाउन २ देखि ३ दिनसम्म लाग्ने गर्दा मालसामानको भाडा पनि बढ्ने र स्थानीयहरूको अनावश्यक तनाव पनि बोक्नु पर्ने समस्या व्यवसायी गुड्डु गुप्ताले गुनासो गरे ।
भन्सारमा यति बेला खाद्यान्न, भुस, चिनी र केही कस्मेटिक आइटमहरूको फाटफुट भन्सार हुँदै आएको छ । कुनै दिन भन्सारमा मालसामान नभएर यतिकै बसेर दिन बिताउनु पर्ने बाध्यता रहेको भन्सारका कर्मचारी बताउँछन् । भन्सारको अन्डरमा ३ वटा छोटी भन्सार पनि रहेको छ तर ती छोटी भन्सारहरू बन्द अवस्थामा छन् । जिल्लामा खुल्ला सिमाना भएका कारण तस्करी पनि व्यापक हुँदै आएको छ । तस्करी नियन्त्रणमा न त भन्सारले नै चासो देखाएको छ न प्रहरीले नै ।
भन्सारले गत आर्थिक वर्षमा २७ करोड ३० लाख रुपैयाँ राजस्व उठाएको छ भने आर्थिक वर्ष २०७८/०७९ मा ३६ करोड राजस्व उठाउने लक्ष्य राखेको छ । तर पूर्वधारको विकास न हुँदा २/३ महिनामा उठ्ने राजस्व एक वर्षमा उठेको छ। भन्सारको ५.५ कट्टा क्षेत्रफल रहे ता पनि जम्मा करिब २ कट्ठामा भवन निर्माण गरी सञ्चालनमा छ तर उक्त भन्सारलाई ठुलो एरिया अधिग्रहण गर्न गोदाम निर्माण, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, काउन्टर, क्वारेन्टिनहरु जस्ता महत्त्वपूर्ण कार्य जरुरी रहेको भन्सारले जनाएको छ ।
स्राेत : रंजीत शर्मा