सुबिन विश्वकर्मा
८ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिकामा नेपाली काँग्रेसको अधिवेशन माहोल हेर्नलायक देखिन्छ । केहीसमय अघि ६ जनाले नगर सभापतिमा इच्छा राखेको भएपनि अहिले त्यो संख्या घटेर ३ भएको छ ।
साविक पाँचवटा गा.बि.स. मिलेर बनेको बराहक्षेत्र नगरपालिकामा अहिले रत्न बहादुर राउत, नारायण नेपाल र रमेश कार्की नगर सभापतिको दौडधुपमा छन् । सरसर्ती हेर्दा तीनैजना उत्कृष्ट उमेदवार भएकाले पनि प्रतिस्पर्धात्मक माहोल देखिएको हो । बराहक्षेत्र ४ बाट निर्वाचित क्षेत्रीय प्रतिनिधि मेघराज पराजुली भन्छन्, कोहिभन्दा कोहि कम छैनन्, हामीलाई सभापति छनौट गर्न मुस्किल छ ।
तीनजनाको आंकाक्षा प्रष्ट देखिएको भएपनि अहिलेसम्म कसैले औपचारिक उम्मेद्बारी घोषणा नगर्दा प्यानलबाट अन्य पदाधिकारीको निश्चित भइसकेको छैन । यसो हुँदैगर्दा बराहक्षेत्रका कुनै पनि नेताले खास एक उमेदवारलाई खुलेर सहयोग गर्ने भन्न सकेका छैनन् ।
निर्णय प्रक्रियामा अपारदर्शिता, गुट, निषेधको, कोठे राजनिति र बराहक्षेत्रको काँग्रेस पछिल्लोसमय पर्यायवाची जस्तै बनिरहेका छन् । यस्तो अबस्थामा आउने नेतृत्वको काधमा निकै जिम्मेवारी रहनेछन् । यहाँका सबै जातजाती, भाषा, धर्म र समुदायलाई पार्टी नेतृत्वमा जोड्दै अझ बलियो र संगठित गर्ने अभिभारा अबको नेतृत्वको पहिलो जिम्मेवारी रहनेछ ।
वर्षौंदेखि कमजोर संगठन रहेको काँग्रेसलाई अब बराहक्षेत्रमा जुनसुकै निर्वाचन जित्न सक्ने हैसियतको बनाउनु अबको नेतृत्वको अर्को मुख्य जिम्मेवारी रहनेछ । चुस्त दुरस्त पाटी संगठन निर्माण, युवाहरुको पार्टीमा स्पष्ट भुमिका निर्धारण र जिम्मेवारी हस्तान्तरण, अग्रजहरुको सम्मान, जनमैत्री राजनैतिक क्रियाकलाप सञ्चालन, पार्टीप्रति नगरवासीहरुको आकर्षण वृद्धि, युवा जमातलाई मूलधारको राजनीतिमा ल्याउने र उचित जिम्मेवारीका साथ नेतृत्वमा पुर्याउन सके मात्र बराहक्षेत्र काँग्रेसको भविष्य सफल देखिन्छ । यससन्दर्भमा नगर सभापतिका उमेदवारहरुको योजना कस्तो छ
रत्न बहादुर राउत
हक्की र निडर स्वाभाव भएका उमेदवार राउत बराहक्षेत्र ८, निवासी हुन् । ०३५ सालबाट नेपाल विधार्थी संघको सदस्यता लिएर नेपाली काँग्रेसको राजनीति सुरु गरेका नेता राउत ०३७ सालमा नेबिसंघको इकाई सभापति भएका थिए । ०४५ देखि शिक्षण पेशा सुरु गरेपछि उनी दुई वर्षपछी शिक्षक संघको क्षेत्रीय प्रतिनिधि समेत भए । १० वर्षे जनयुद्धमा माओवादी भएकै कारण आफू अपहरणमा परेको उनको दाबी छ । उनी भन्छन्, ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेका साथीहरूले मलाई झुठ्ठा आरोप लगाएर यातना दिएका थिए ।
पछि ०७२ मा नेपाली काँग्रेस तत्कालीन महेन्द्रनगर गा.बि.स.को इकाई सभापति बनेका उनी हाल बराहक्षेत्र नगरपालिकाका सह(संयोजक हुन् । नजिँकिदै गरेको स्थानीय चुनावमा पार्टीको जीत सुनिश्चित गर्ने, युवा, अग्रज तथा समकालीन पुस्तालाई सँगै मिलाएर लैजाने, संगठन विस्तारमा तीब्रता दिने उनको मुख्य योजना रहेको बताइएको छ । शिक्षण पेशा छोडेर राजनीतिमा होमिएको भन्ने उनी नगर सभापति बन्नुपर्ने कार्यकर्ता बताउँछन् ।
नारायण नेपाल
साविक बराहक्षेत्र गा।बि।स। हाल बराहक्षेत्र २० निवासी काँग्रेसजनहरुमा प्रिय नाम हो( नारायण नेपाल । गत स्थानीय तहको निर्वाचनमा आफ्नो वडालाई जिताएर सफल सभापतिको छवि बनाएका नेपाल समायोजनपछि पुनः नगर सभापति चुनिए । झण्डै २ वर्षिय सभापतीय कार्यकालमा उनले कार्यकर्तालाई गरेको सहयोग, सुस्त सुदृढ संगठन निर्माण, जनभावनाको कदरस्वरुपको क्रियाकलापले उनलाई कत्तिको सफल सभापति भन्न मिल्छ रु त्यो सबै कार्यकर्ताले लेखाजोखा राखेका छन् ।
यद्यपि बराहक्षेत्र १ र २ को पुराना काँग्रेस कार्यकर्ता नेपालको निरन्तरता र पाटिप्रतिको सकृयताले गर्दा नै साविक बराहक्षेत्र गा।बि।स।मा काँग्रेसले स्थानीय चुनाव आफ्नो पोल्टोमा पारेको हो । कोरोनाकाल भएकाले आफूले आफ्नो कार्यकालमा खासै उल्लेख्य काम गर्न नसकेकोले अधुरो काम पूरा गर्नको लागि उम्मेदवारी दिएको उनी बताउँछन् । पार्टीप्रतिको आस्था र अग्रज नेताको रुपमा परिचित उनको संभावना राम्रो रहेको कार्यकर्ताहरूले जिकिर गरेका छन् ।
रमेश कार्की
अहिलेका युवा पुस्ताको मुखमा झुण्डिएको नाम रमेश कार्की हो । सामाजिक कार्यमा अति सक्रिय कार्की सरल, शालिन र भद्र स्वभावका छन् । कोरोनाकालमा बराहक्षेत्र निवासी जनताहरुको घरदैलोमा गएर माक्स, सेनिटाइजर र स्वास्थ्य सामाग्री वितरण गर्नमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । अन्य दुईभन्दा कम उमेरका युवा उमेदवार भनिएका कार्की ७ नम्बर वार्ड निवासी हुन् । चक्रघट्टी जेसीज लगायत विभिन्न सामाजिक संस्थाको नेतृत्व गरिसकेका कार्की अहिले काँग्रेसका क्षेत्रीय सचिव हुन् । विषेशगरि युवा पुस्ताको सहभागिता बढाएर पार्टीलाई चलायमान बनाउने उनको योजना रहेको छ । यद्यपि अन्य दुई उमेदवारले संसदीय फाटमा नजाने घोषणा गरिसकेका भए पनि कार्कीले भने यसबारे मुख खोलेका छैनन् । अहिले देशभर नै युवा पुस्तालाई नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि सर्दै गर्दा बराहक्षेत्रमा पनि धेरैले रमेश कार्कीको संभावनाको व्याख्या गर्न थालेका छन् ।









