एक महिनापछि वर्षा भएपछि सप्तरीका किसानमा खुसी


सप्तरी । करिब एक महिनापछि वर्षा भएपछि सप्तरीका किसानमा खुसी छाएको छ। लामो समयदेखि पानी नपर्दा धानबाली सुक्ने चिन्तामा रहेका किसान आइतबार रातिदेखि परेको वर्षाले राहत मिलेको भन्दै उत्साहित भएका छन्।

भदौको तेस्रो साता बित्न लाग्दासमेत पर्याप्त वर्षा नहुँदा आकाशे पानीको भरमा खेती गर्दै आएका किसान धानबाली कसरी जोगाउने भन्ने चिन्तामा थिए। पछिल्लो वर्षाले खेतमा पानीको अभाव केही कम भएपछि किसानको चिन्ता पनि घटेको छ।

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख रोशन मेहताले लामो खडेरीपछि भएको वर्षाले धानबालीलाई ठूलो राहत पुगेको बताउनुभयो।

“एक महिनाको खडेरीपछि भएको वर्षाले धानबालीले नयाँ जीवन पाएको छ,” उहाँले भन्नुभयो, “वर्षा नहुँदा उत्पादन घट्ने जोखिम बढ्दै गएको थियो। अहिले भएको वर्षाले त्यो जोखिम केही कम भएको छ।”

रुपनी–४ का किसान भगवतीप्रसाद साहले लामो समयपछि पानी पर्दा खेतसँगै किसानको मनमा पनि हरियाली छाएको बताउनुभयो। उहाँका अनुसार पछिल्लो वर्षाले धानबाली जोगाउन ठूलो सहयोग पुगेको छ।

सोही ठाउँका किसान रामरतन यादवले पनि लामो समयपछि पानी पर्दा धानबालीले पुनः प्राण पाएको अनुभूति भएको बताउनुभयो।

सप्तरीका अधिकांश किसान आकाशे पानीमा निर्भर भएर खेती गर्दै आएका छन्। लामो समयसम्म पानी नपर्दा धान सुक्ने तथा उत्पादनमा कमी आउने चिन्ता बढेको थियो। पछिल्लो वर्षाले भने धानबालीलाई आवश्यक पानी उपलब्ध गराउनुका साथै किसानको चिन्ता केही कम गरेको छ।

कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार जिल्लामा ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये हरेक वर्ष करिब ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।

यस वर्ष भने जिल्लाका शतप्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ भएको केन्द्रले जनाएको छ। “यस वर्ष शतप्रतिशत खेतमा धान रोपाइँ भएको छ, त्यसैले उत्पादन पनि बढ्ने अनुमान गरेका छौँ,” केन्द्रका प्रमुख मेहताले भन्नुभयो।

लामो समयपछि परेको वर्षाले धानबालीलाई राहत दिए पनि आगामी दिनमा पनि पर्याप्त वर्षा भइरहनुपर्ने किसानको अपेक्षा छ।gorkhapatraonline


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको