काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेकाहरूको उद्धार कार्य थप जटिल बन्दै गएको छ। उद्धार अभियानको नेतृत्व गरिरहेका ६२ वर्षीय अस्ट्रेलियाली सुरुङ विशेषज्ञ तथा भूगर्भविद् प्रोफेसर आर्नोल्ड डिक्सले नेपालमा अहिले एकैपटक धेरै स्थानमा उद्धार गर्नुपर्ने असाधारण परिस्थिति रहेको बताएका छन्।
सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना श्रमिकलाई सुरक्षित रूपमा उद्धार गरेर चर्चामा आएका डिक्सले नेपालको पछिल्लो उद्धार अभियानलाई आफ्नो जीवनकै कठिन परीक्षामध्ये एक भएको बताएका हुन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत सिल्क्यारा सुरुङ उद्धारको अनुभव स्मरण गर्दै नेपालमा भइरहेको अभियानबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
डिक्सका अनुसार सिल्क्यारामा ४१ जनाको जीवन जोगाउनु निकै कठिन र असम्भवजस्तै देखिएको थियो। तर निरन्तर प्रयासपछि उद्धार सम्भव भएको स्मरण गर्दै उनले एउटा कठिन परीक्षा पार गर्दैमा चुनौती समाप्त नहुने बताएका छन्।
उनले अहिले नेपालमा पनि त्यस्तै ठूलो जिम्मेवारी आफूहरूमाथि आएको उल्लेख गरेका छन्। परिणाम तत्कालै निश्चित नहुँदा र उद्धारको बाटो कठिन बन्दै गए पनि प्रयास जारी राख्नुपर्ने उनको भनाइ छ।
पश्चिमी समाजको ‘कर्तव्य’ र पूर्वीय दर्शनको ‘धर्म’लाई जोड्दै डिक्सले जीवन बचाउनु नै अहिलेको सबैभन्दा ठूलो प्राथमिकता भएको बताएका छन्। उनका अनुसार कुनै काम सफल हुने सम्भावना कम देखिए पनि त्यसलाई असम्भव मानेर प्रयास नै छाड्नु हुँदैन।
नेपालमा जारी उद्धार अभियानबाट आफूले नयाँ पाठ सिकिरहेको उल्लेख गर्दै उनले धेरै मानिसको जीवन आफूहरूको प्रयासमा निर्भर रहेको अवस्थामा आशालाई केवल भावनामा सीमित नराखी अनुशासनका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
उनले करुणा केवल अनुभूति नभई व्यवहार र कार्यमा देखिनुपर्नेमा जोड दिएका छन्। पूर्वीय ‘धर्म’ र पश्चिमी ‘कर्तव्य’को मूल भावना मानिसको जीवन बचाउन इमानदार प्रयास गर्नु नै भएको उनको भनाइ छ।
भोटेकोशी क्षेत्रमा जारी उद्धार अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी तथा विभिन्न प्राविधिक र विशेषज्ञ टोली परिचालित छन्। सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको छ।
डिक्सको सन्देशले यसअघि विभिन्न विपद्का घटनामा उद्धारको अनुभव गरेका नेपालीहरूमा समेत पुराना स्मृति ताजा गराएको छ। कठिन परिस्थितिमा पनि निरन्तर प्रयास र आशा कायम राख्नुपर्ने उनको भनाइले अहिलेको उद्धार अभियानमा खटिएका टोली तथा पीडित परिवारमा आशा जगाएको छ।khabarhub









